मंगलबार, वैशाख ९, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०६:५४ |सिड्नीको समय: ०४:५४ |काठमाडौंको समय: ००:३९

समावेशी खुल्ला पारा टेबुलटेनिसको उपाधि राजिबलाई

एएनजेड खबरअप्रिल २०, २०२५

काठमाडौं । राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघ नेपालले समावेशी खुला पारा टेबुलटेनिस खेल प्रतियोगिता गराएको छ ।

शनिबार जोरपाटी खगेन्द्र सामुदायिक भवन जोरपाटीमा संघले अपाङ्गता भएका र सपाङ्ग व्यक्तिहरुबीच खुला टेबुलटेनिस प्रतिस्पर्धा गराएको हो ।

उक्त प्रतिस्पर्धामा राजीव छिकाबंजरले उपाधि जित्न सफल भएका छन् । फाइनल खेलमा उनले रक्त चन्द्र मानन्धरलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक रह्यो । राजीवले १४–११, ११–९,१३–११ को सेट स्कोरमा मानन्धरलाई हराएका थिए । धर्मराज थापाले भने तेस्रो स्थान हासिल गरेका छन् ।

यसअघि सेमिफाइनलमा मानन्धरले थापालाई १४–११, ११–१३, १६–१५ को कडा प्रतिस्पर्धामा पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगिताले सबै उमेर समूह र भिन्न–भिन्न पृष्ठभूमिका खेलाडीहरूलाई एउटै मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको आयोजक संघले जनाएको छ ।

समावेशीतालाई प्राथमिकता दिँदै आयोजना गरिएको प्रतियोगिताले खेलकुदमा समावेशी मूल्य–मान्यतालाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।

अपांगता भएका खेलाडीहरूलाई हौसला बढाउन समावेशी खुल्ला पारा टेबुलटेनिस खेल सञ्चालन गरिएको राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघ नेपालका अध्यक्ष गणेश केसीले बताए ।

उनले अपाङ्गता भएका व्यक्ति र अरुसँग पनि प्रतिस्पर्धा गरेर कस्तो खालको खेल खेल्नुपर्ने रहेछ, आफूलाई कसरी सुर्धानुपर्ने रहेछ, आफू आफूबीचको खेलले भन्दा अरुसँगको प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन र खेलका टेक्निक र तरिकाहरु कसरी सुर्धान सकिन्छ भन्ने ज्ञान प्राप्त होस भन्ने उद्देश्यले समावेशी खेलकुद आयोजना गरिएको जानकारी दिए ।

उनले भने, ‘अपांगता भएकाहरु जो घरभित्र रहनुहुन्छ उहाँहरुलाई खेलकुदबाट उत्साह जोगाउने, शसक्तिकरण गराउने र क्षमतालाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौं । विगतमा अपाङ्गता भएका व्यक्तिहरुबीच मात्रै खेल खेलाएर उहाँहरुलाई प्रथम, दोस्रो र तेस्रो घोषणा गर्ने गरेका थियौं । तर यस पटक अपाङ्गता भएका व्यक्ति र अरुसँग पनि प्रतिस्पर्धा गराएर नयाँ सन्देश दिन खोजेका हौं ।’

तपाइँको प्रतिक्रिया