एनआरएनए पूर्वअध्यक्षहरुको एकमत : वास्तविक एकता महाधिवेशन चाहिएको छ
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष लगायतका अभियन्ताहरुले संघमा एकता आवश्यक रहेको औंल्याएका छन् । हाल देखिएको असहज अवस्थाबाट निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न उनीहरुले आब्हान समेत गरेका छन् ।
गैर आवासीय नेपाली संघद्वारा मंगलबार भर्चुएल माध्यमबाट आयोजित बृहत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीहरुबीच भाइचारा बढाउन यो संस्थाको स्थापना गरिएको स्मरण गरे। उनले सबैलाई हठ त्यागेर लाखौं नेपालीलाई एउटै विचारको साथ अगाडी बढ्न आग्रह गरे। उनले वास्तविक एकताको महाधिवेशनमा मात्रै आफु सहभागी हुने बताउंदै नेपालको समृद्धिको अभियानमा आफ्नो सधैं साथ हुने बताए ।
एनआरएनएका पूर्वअध्यक्ष जीबा लामिछानेले परराष्ट्रमन्त्री डा.आरजु देउवाले समन्वयकारी भूमिका खेलेको बताउंदै सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानुपर्ने बताए ।
एनआरएनएका पूर्वअध्यक्ष कुमार पन्तले विवेक नगुमाउन सबै साथीहरुलाई आग्रह गरे । उनले उच्चस्तरीय समिति एकताबद्ध बन्यो भने मात्रै सबैको इज्जत हुने बताउंदै प्राविधिक कुरामा मात्रै नअल्झिन आग्रह गरे। एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताउंदै आफ्नो व्यक्तिगत हित भन्दा संस्थाको हितलाई माथि राख्न आग्रह गरे।
एनआरएनएका संस्थापक सचिव भिम उदासले प्राविधिक कुरा छोडेर भावनात्मक एकतामा जान आग्रह गरे। उनले एकताको संदेश अन्तरवार्तामा हैन, व्यवहारमा देखाउनु पर्ने बताए। त्यस्तै संस्थापक सदस्य इन्द्रा बनले पनि अक्टोबर २०२५ मा अधिवेशन र चुनाव गर्न साथै सबै पक्षसंग संवाद गरेर अगाडी बढ्न सुझाव दिइन्।
एनआरएनएका संस्थापक सदस्य राम प्रताप थापाले संस्थाको एकताको लागि आफुले विगतमा बलिदान गरेको समरण गर्दै संस्थाको हितलाई सर्वोपरी राख्न आग्रह गरे।
एनआरएनए एक समूहका अध्यक्ष डा बद्री केसीले २००३ मा नेपालको समृद्धिको लागि विदेशमा रहेका नेपालीहरुलाई जोड्ने पवित्र उद्देश्य लिएर संस्था स्थापना गरिएको बताए । उनले एनआरएन नागरिकतादेखि सामाजिक सुरक्षा कोषसम्म सबै संघको उपलब्धि भएको बताए। केसीले एनआरएनएभित्रको आन्तरिक विवादले गर्दा मुख्य एजेन्डा ओझेलमा परिरहेको बताए ।
तपाइँको प्रतिक्रिया