स्पेनका नेपाली राजदूत नेपालले राजा फिलिपलाई बोलाए नेपाल भ्रमणमा

बार्सिलोना । स्पेन अधिराज्यका लागि नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फिलिप छैटौ समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
म्याड्रिड स्थीत स्पेनको राजदरवारमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राजदूत नेपालले राजालाई ओहोदाको प्रमाणपत्र बुझाएपछि राजासँग केहीबेर छुट्टै शिष्टाचार भेटवार्ता समेत गरेका थिए ।
भेटवार्ताका क्रममा उनले जलवायु परिवर्तनले नेपालका हिमालहरुमा असर परेको र त्यसले समग्र जीवनशैलीलाई नै प्रभावित पार्न थालेको जानकारी गराएका थिए । त्यसैगरी नेपालका राष्ट्रपति र प्रधानमन्त्री समेतको सन्देश सुनाउदै उनले राजा फिलिपलाई नेपाल भ्रमणका लागि अनुरोध गरेका थिए ।
जवाफमा राजा फिलिप छैटौले आफू धेरै अगाडि नेपाल आएको स्मरण गर्दै नेपाल चाडै जाने इच्छा रहेको बताउनु भएको राजदूत नेपालले जानकारी दिए । शिष्टाचार भेटवार्ताका क्रममा नेपालको कला संस्कृति, दुई देशको आपसी सम्वन्ध, सहकार्य लगायतका विषयमा समेत सक्षिप्त कुराकानी भएको स्पेनस्थीत नेपाली दूतावासले जनाएको छ ।
दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ, सुमधुर र घनिभूत बनाउन राजदूत नेपाल सक्षम हुने विश्वास राजाबाट व्यक्त भएको दूतावासका अधिकारीहरुले जनाएका छन् । राजाले राजदूत नेपालको स्पेन बसाई अत्यन्त राम्रो र उपलब्धीमुलक रहोस् भन्ने कामना समेत गर्नु भएको दूतावासले जनाएको छ ।
राजदूत नेपालले ओहोदाको प्रमणपत्र बुझाउने क्रममा दूतावासका बरिष्ठ अधिकारीहरु र पारिवारिक सदस्यहरु समेत सहभागी भएका थिए ।
फिलिप छैटौले सन् २०१४ देखि स्पेनको राजगद्दी सम्हाल्दै आएका छन् । नेपाल र स्पेनका बीचमा सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको हो । सन् १९८४ मा स्व। राजा वीरेन्द्र र रानी ऐश्वर्याले स्पेनको भ्रमण गर्नु भएको थियो भने त्यतिबेला नै राजारानीको निमन्त्रणामा स्पेनका तत्कालिन राजा खुवान कार्लोस र रानी सोफियाले ३ वर्षपछि अर्थात् सन् १९८७ नोभेम्बरमा नेपालको गरेका थिए ।
स्पेनको नयाँ राजदूतका रुपमा युवा कुटनीतिज्ञ नेपालले झण्डै एक महिना अगाडि म्याड्रिडमा पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आउनुभएका नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए । यसअघि उनी पोर्चुगलका लागि राजदूतमा नियुक्त भएका थिए ।
तपाइँको प्रतिक्रिया