ग्रीस र स्वीडेन पठाइदिने प्रलोभन पारेर ठगी
काठमाडौं । वैदेशिकर रोजगारीको लागि ग्रीस र स्वीडेन पठाइदिने प्रलोभन पारेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेत सिम्ता गाउँपालिका(४ घर भई हाल ललितपुर महानगरपालिका २९ बस्ने ३७ वर्षीय इन्द्रबहादुर केसी र बारा करैयामाई गाउँपालिका १ घर भई काठमाडौं महानगरपालिका १६ ढुंगेधारा बस्ने ४६ वर्षीय विशुनदयार चौधरी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
बेरोजगार युवायुवतीलाई ग्रीस पठाउने र आकर्षक तलबको लोभ देखाएर केसीले तीन जनाबाट २४ लाख रुपैयाँ रकम ठगी गरेको आचार्यले बताए।
यता, चौधरीले स्वीडेन पठाइदिने भन्दै एक जनाबाट ४ लाख ४० हजार रुपैयाँ ठगी गरेको आचार्यले बताए।
विदेश पठाइदिने भनेर रकम संकलनपछि उनीहरू सम्पर्कविहीन भएका थिए। रकम बुझ्नेहरू सम्पर्कमा नआएपछि पीडित प्रहरीमा पुगेका थिए।
केसी र चौधरीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।
तपाइँको प्रतिक्रिया