आइतबार, पुष २१, २०८१ |Sun Jan, 2025
अक्ल्याण्डको समय: ११:५० |सिड्नीको समय: ०९:५० |काठमाडौंको समय: ०४:३५

हेल्प नेपाल नेटवर्कले २५ औं वार्षिकोत्सव : डिला खरेल ग्लोबल कोअर्डीनेटर चयन

एएनजेड खबरडिसेम्बर ३०, २०२४

काठमाडौँ । नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था, हेल्पनेपाल नेटवर्कले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाएको छ ।

शनिबार राष्ट्रिय सभा गृहमा आयोजित एक भव्य समारोहमा वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतले वरिष्ठ हृदयरोग विशेषज्ञ तथा बाल मुटु अस्पतालको निर्माण अभियानमा समर्पित डा.भगवान कोइरालालाई अभिनन्दन गरे ।

यस्तै, डा.रुइतले मानव सेवा आश्रम हेटौँडाका समाजसेवीहरू रामजी अधिकारी र सुशीला (रुपा)केसी र अटिजम भएका बालबालिकाको सेवामा समर्पित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडीआरसी) की संस्थापक तथा समाजसेवी सविता उप्रेतीलाई अभिनन्दन गरे ।

सोही अवसरमा सम्पन्न विश्व भेलाले अष्ट्रेलिया निवासी व्यवसायी तथा समाजसेवी डिला खरेललाई संस्थाको ग्लोबल कोअर्डीनेटर चयन गरेको छ। त्यस्तै भेलाले अष्ट्रेलिया निवासी वैज्ञानिक डा.राजु अधिकारीको संयोजकत्वमा इन्द्रा बन (अष्ट्रेलिया), हर्ष गौतम (अष्ट्रेलिया), प्रणय राज आचार्य (स्विडेन)तथा लक्ष्मण शर्मा रहेको एक सल्लाहकार समिति पनि गठन गरेको छ। त्यस्तै इ.रोशेन्द्र ध्वज खड्कालाई प्रोजेक्ट कोअर्डीनेटर चयन गरिएको छ।

सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखाहरु रहेका छ्न भने नेपालमा केन्द्रीय कार्यालय रहेको छ। ‘मातृभूमिका लागि महिनामा एक पाउण्ड’ भन्ने नारा सहित सन् १९९९ मा बेलायतबाट हेल्पनेपाल नेटवर्क स्थापना गरिएको थियो।

नेटवर्कले नेपालका एक सय बढी स्कुलहरुमा कक्षा कोठा निर्माण तथा झन्डै ५० ओटा इ(लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको छ ।

नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरुलाई गएको २० वर्ष देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै सन् २०१४ देखि धुलिखेलमा संचालित हेल्प नेपाल बाल गृहमा २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्। सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा आगलागी पीडितहरुलाई पनि नेटवर्कले मानवीय सहायता पुर्याउँदै आएको छ।

तपाइँको प्रतिक्रिया