आइतबार, पुष २१, २०८१ |Sun Jan, 2025
अक्ल्याण्डको समय: ११:४१ |सिड्नीको समय: ०९:४१ |काठमाडौंको समय: ०४:२६

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ८४ हजार बढी

एएनजेड खबरडिसेम्बर २८, २०२४

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो चालु आवमा पाँच महिनाकै सबैभन्दा बढी हो ।

वैदेशिक रोजगार विभागका अनुसार मङ्सिरमा ८४ हजार २२७ जनाले र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार कात्तिकमा ७० हजार ९९० जना, भदौमा ५७ हजार ४९३ जना र साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

विभागका अनुसार गत आर्थिक वर्ष २०८०।८१ को तुलनामा चालु आवको यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १८.६८ प्रतिशतले बढेको छ । गत आवको सो अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले श्रम स्वीकृति लिएकामा चालु आवको यस अवधिमा तीन लाख २५ हजार ८१० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवमा ५१ हजार २९३ जनाले बढी हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले चालु आवमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै कात्तिक र मङ्सिरमा श्रम स्वीकृति जारी भएको जानकारी दिए ।

मलेसिया जाने नेपाली श्रमिकको सङ्ख्या घटे पनि गत आवदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको विभागले जनाएको छ ।

तपाइँको प्रतिक्रिया