मंगलबार, मंसिर १८, २०८१ |Wed Dec, 2024
अक्ल्याण्डको समय: ०५:३८ |सिड्नीको समय: ०३:३८ |काठमाडौंको समय: २२:२३

हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको २५ औं वार्षिकोत्सव : अक्षय कोष १० करोड पुर्याइने

एएनजेड खबरनोभेम्बर २१, २०२४

क्यानबरा । शिक्षा, स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको संस्था, हेल्प नेपाल नेटवर्क, को स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले क्यानबरामा एक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा अष्ट्रेलियाली सरकारका सांसद, स्थानीय सरकारका प्रतिनिधिहरु, संस्थाका शुभचिन्तकहरु तथा नेपाली–अष्ट्रेलियाली समुदायका अगुवाहरु भेला भएर हेल्प नेपाल नेटवर्कको उपलब्धिहरूलाई उत्सवका रूपमा मनाउनुका साथै नेपालका परियोजनाहरूका लागि अर्थ संकलन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन अष्ट्रेलियन क्यापिटल टेरिटोरी मन्त्री सुज्यान ओर तथा अष्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत कुलबहादुर मगरले दीप प्रज्वलनमार्फत गरेका थिए । कार्यक्रमका संयोजक डा.कृष्ण हमालले उपस्थित सबैलाई स्वागत गरेका थिए भने हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाकी राष्ट्रिय संयोजक सन्तोषी गौतमले संस्थाको यात्रा तथा आगामी योजनाबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा अष्ट्रेलियाली संसदका हाउस अफ रिप्रजेन्टेटिभ्सका गभर्नमेन्ट ह्विप सांसद डेभिड स्मिथले आफ्नो मन्तव्य राख्दै अष्ट्रेलियाको विकासमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गरे। कार्यक्रममा काव्या भण्डारी, श्रमिक अधिकारी तथा जेनिशा गौतमले नेपाली नृत्यहरू प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए ।

मुख्य अतिथि सुज्यान ओर, विशेष अतिथि कुलबहादुर मगर, राज्य सरकारका एन्ड्र्यू ब्राडक र नेपालका लागि पूर्व अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कजस्ता व्यक्तित्वहरूले आ–आफ्नो मन्तव्य राख्दै हेल्प नेपाल नेटवर्कको योगदान र नेपाल(अष्ट्रेलिया सम्बन्धको महत्वलाई उजागर गरेका थिए ।

कार्यक्रममा हेल्प नेपाल नेटवर्कको उद्देश्य हासिल गर्न विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान र कदर पत्र प्रदान गरिएको थियो भने प्रायोजक, समर्थक, सञ्चारकर्मी, र स्वयंसेवकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाका महासचिव डिला खरेलले सबैलाई धन्यवाद ज्ञापन गरे ।

हेल्प नेपाल नेटवर्क नेपालका संयोजक अरुण सिं बस्नेतले विगत २५ वर्ष देखि हेल्प नेपाल नेटवर्कले व्यवहारिक परोपकारको उदाहरण पेश गरि रहेको बताए। उनले नेपाली नेपाली मिलेर नेपालको हितमा काम गर्दा थुप्रै उपलब्धि हासिल गर्न सकिएको उदाहरण दिए। उनले स्थापना काल देखि नै हेल्प नेपाल मार्फत सहयोग गरी रहेका सबै मित्रहरुलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि हातेमालो गरिरहन अपिल गरे।

हेल्प नेपाल नेटवर्क ग्लोबल कोअर्डीनेशन कमिटिका सदस्य डिला खरेलले हेल्प नेपाल नेटवर्कले स्थापनाकालदेखि नै आफ्नो आयव्यय पारदर्शी राख्दै आएको र कसैलाई औंला ठड्याउने अवसर न दिएको बताए। उनले नेटवर्कको अक्षय कोषमा अहिलेसम्म झन्डै रु ६ करोड जम्मा भै सकेकोमा आगामी दुइ वर्ष भित्रमा यसलाई रु दश करोड पुराउन सहयोग गर्न सबैलाई आग्रह गरे।

कार्यक्रममा नेटवर्कले मुगुको मुर्मामा संचालन गरिरहेको हेल्प नेपाल हेल्थ पोष्ट, धुलिखेलस्थित बाल गृह लगायतका परियोजनाहरूबारे पनि जानकारी दिइएको थियो।

उक्त कार्यक्रमले हेल्प नेपाल नेटवर्कले गत २५ वर्षदेखि नेपालका दुर्गम र विकट ग्रामीण भेगका जनताहरुको स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधारमा समर्पित प्रयासलाई स्मरणीय बनाएको थियो।

तपाइँको प्रतिक्रिया