बिहीबार, मंसिर ६, २०८१ |Thu Nov, 2024
अक्ल्याण्डको समय: २३:०५ |सिड्नीको समय: २१:०५ |काठमाडौंको समय: १५:५०

नेपाली यू–१९ महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट

एएनजेड खबरनोभेम्बर १४, २०२४

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टिमले यसपालि कमालको प्रदर्शन गरेको छ । यूएईमा भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा शीर्ष स्थानमा रहँदै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको छ ।

यसअघिको संस्करणमा तेस्रो भएको नेपाल यसपालि पहिलो हुँदै विश्वकपमा पुगेको हो । नेपाल एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा घरेलु टिम यूएईमाथि ८ विकेटको शानदार जितसहित शीर्ष स्थान रहेर विश्वकपमा छनोट भएको हो ।

यसअघि शीर्ष स्थानमा रहेर यूएई छनोट भएको थियो । यसपालि चार टिम सहभागी छनोट प्रतियोगितामा नेपालले पहिलो चरणमा यूएईसँग १३ रनको हार बेहोरे पनि दोस्रो चरणमा भने यूएईमाथि ८ विकेटको सनसनीपूर्ण जित निकालेको हो । त्यो पनि मात्र १४।४ ओभरमा ।

पूजा महतोले कप्तानी सम्हालेको टिममा पूजाले त झन् कमालको प्रदर्शन गरिन् । कुवेत विरुद्धको खेलमा उनले अविजित १३० रन बनाउनुका साथै ५ विकेट लिइन् । यस्तो कीर्तिमान टी–२० मा विरलै तोडिन्छन् ।

अन्तिम खेलमा यूएईले दिएको ८४ रनको सामान्य लक्ष्य नेपालले १४।४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो ।

साना प्रवीनले ४२ बलमा अविजित रहँदै ३५ रन बनाइन् । यसअघि दुबईस्थित द सेभेन स्टेडियममा नेपालले यूएईलाई ८३ रनमा रोकेको थियो । यूएईले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ८३ रनमात्र बनाएको थियो । समाइरा धरनीधरकाले सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई कम योगफलमा समेट्ने क्रममा क्रिश्मा गुरुङले १७ रन खर्चेर ४ तथा रिया शर्माले १२ रन खर्चेर २ विकेट लिइन् ।

नेपाल र यूएईको समान १० अंक भए पनि रन रेटमा नेपाल माथि रहँदै विश्वकपका छानिन सफल भयो । नेपालको रन रेट ३।९३५ रह्यो भने यूएईको ३।७४० रह्यो । नेपाल ०।१९५ को रन रेटमा अग्रता लिँदै विश्वकपमा छानिएको हो ।

दशमलव पछिको मूल्यको कति अर्थ रहेछ भन्ने कुरा यसले प्रमाणित गरिदियो । नेपालले पहिलो चरणमा थाइल्याण्डलाई ६७ रनले, कुवेतलाई १०८ रनले हराएको थियो भने यूएईसँग १३ रनले पराजित भएको थियो ।

दोस्रो चरणमा भने नेपालले थप आक्रामक र सुधारोन्मुख प्रदर्शन गर्दै थाइल्याण्डलाई १०६ रनले, कुवेतलाई १६५ रनले तथा यूएईलाई ८ विकेटले हराएको हो ।

अबको विश्वकपमा नेपाल

यू–१९ महिला टी–२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदैछ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ औँ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रीय छनोटबाट नेपालसहित ५ देशले भाग लिँदै छन् ।

जसमा अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, बंगलादेश, इङ्गल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इण्डिज रहेका छन् ।

त्यस्तै क्षेत्रीय छनोटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।

यस विश्वकप खेल्ने १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् ।

यसअघि २०२३ मा भएको पहिलो यू–१९ महिला टी–२० विश्वकप भारतले जितेको थियो । २०२३ को विश्वकप छनोट प्रतियोगितामा नेपाल तेस्रो हुँदै एसियाबाट छनोट हुन सकेको थिएन । एसियाबाट यूएई शीर्ष स्थानमा रहँदै छनोट भएको थियो ।

तपाइँको प्रतिक्रिया