बुधबार, कार्तिक ७, २०८१ |Wed Oct, 2024
अक्ल्याण्डको समय: १७:२५ |सिड्नीको समय: १५:२५ |काठमाडौंको समय: १०:१०

पर्यटनमन्त्री पाण्डेका एकसय दिन : थोरै तर ऐतिहासिक उपलब्धि

एएनजेड खबरअक्टोबर २३, २०२४

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पूरा भइरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि आफ्नो कार्यकालको पहिलो सय दिन पूरा गरेका छन् । पहिलो पटक सरकारको जिम्मेवारीमा पुगेका मन्त्री पाण्डेले चर्चा भन्दा पनि कामलाई प्राथमिकता दिने बताउँदै आएका थिए र उनले मन्त्री पदलाई आफूले दुर्लभ नठानेको प्रतिक्रिया दिने गरेका थिए ।

यसै सिलसिलामा उनले एक सय दिनका उपलब्धिहरु सार्वजनिक गर्ने कामलाई प्राथमिकता नठानेपनि केही सन्तोषजनक कामहरु गरेर चर्चा भने बटुलेका छन् । २०७९ सालको निर्वाचनमा बाजुराबाट प्रत्यक्ष निर्वाचिन उनी मन्त्रीको कुर्सीमा बसिकेपछि फुर्सद समेत नपाएकाले गृह जिल्लाको भ्रमणमा पर्याप्त समय छुटाउन सकेका छैनन् । तथापी एकसय दिनमा केही स्वागतयोग्य र स्मरणीय कामहरु भने गरेर देखाएका छन् । योजना र सार्वजनिक गरेका अभिव्यक्तिहरु शतप्रतिशत कार्यान्वयनमा ल्याउन नसकेपनि तुलनात्मक रुपमा उनको काममा खोट लाउने ठाउँ भने देखिएको छैन् ।

मन्त्रालयको जिम्मेवारी लिएर पदभार ग्रहण गर्दैगर्दा उनले पर्यटन नीतिको कुरालाई प्राथमिकता दिएका थियो । सोही अनुसार उनले पर्यटन क्षेत्रको संस्थागत विकासका लागि नीतिगत योजना बनाउने, पर्यटन ऐनको मसौदा तयार पार्ने कामलाई अत्यन्तै छिटो अगाडि बढाएकोमा कर्मचारी बृत्तमा पनि चर्चा चलिरहेको छ । ऐन र नीतिका सवालमा अघिल्ला मन्त्रीहरुले चाहेर पनि अघि बढाउन नसकेको नीति पाण्डेको कार्यकालमा तिब्र रुपमा अघि बढेको कर्मचारीहरु बताउने गर्छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा विकास गर्ने विधेयक, संस्कृति नीतिको मसौदा, क्यासिनो नियमावलीको मसौदा मन्त्रीपरिषद्मा पेस गर्ने र नेपाल वायुसेवा निगमतर्फ सुधार योजनालगायतका कामलाई मन्त्री पाण्डेले आफ्नो तीन महिने अवधिको ठूलो उपलब्धि ठानेका छन् ।

सरकारले लिएको लक्ष्य अनुसार छ हजार पाँच सय मिटरभन्दा तलका हिमाल खुला गर्ने विसं २०८१ असोज २२ गते मन्त्रीपरिषदबाट निर्णय गराई कार्यान्वयनमा लैजान मन्त्री सफल देखिएका छन् । ग्रेट हिमालयन ट्रेलको निर्माणतर्फ पाँच किलोमिटर ट्रेल निर्माण, लुम्बिनी विश्व सम्पदा संरक्षण कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने र भूकम्पबाट क्षतिग्रस्त भएका ९२० वटा पुरातात्त्विक महत्वका सम्पदामध्ये अघिल्लो आर्थिक वर्षमा आठ सय संरचनाको निर्माण सम्पन्न भएकोमा पछिल्लो तीन महिनामा थप पाँच वटा संरचनाको निर्माण पूरा भएको उनको सचिवालयले तयार गरेको उपलब्धिको सूचीबाट स्पष्ट हुन्छ ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई इन्धन, ग्राउन्ड ह्यान्डलिङ, पार्किङ, नेभिगेसनलगायतका छुट योजनासमेत अघि बढाइएकोमा मन्त्री पाण्डेले तारिफ पाएका छन । नाथम र माउन्टेन एकेडेमी मर्ज गर्ने कामलाई रोकेर उनले अर्को पेचिलो कामबाट चर्चा कमाएका छन् ।

पर्यटन नीति, २०८१ को प्रारम्भिक नीतिको मसौदा तयार भएको, सङ्घीय भाषा ऐनको मसौदा तर्जुमा सम्बन्धमा सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको, संस्कृति नीतिको मसौदा राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठानको रायपश्चात् पुनः मन्त्रीपरिषद्मा पेस गरिने तयारी रहेको सुनाए ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायमा विभाजन गर्ने मसौदा तयार गरी अर्थ मन्त्रालय, कानुन मन्त्रालय हुँदै पुनः मन्त्रीपरिषदमा पुगेर मन्त्रीपरिषद्को विधेयक समितिमा पुगेको छ । हवाई सुरक्षासँग सम्बन्धित रहेर युरोपेली युनियनलगायतका प्रतिनिधिसँग छलफल गरेर सकरात्मक कदमहरु उनले चालेका छन् ।

खासगरी अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुँदा उनले हवाई उडानको व्यवस्थापनमा तीव्रता दिएर इतिहासकै सबैभन्दा धेरै आन्तरिक उडानमार्फत् यात्रुहरू गृहजिल्ला पुर्याउने काममा उनको भूमिका प्रभावकारी रहेको मानिन्छ ।

बढेको हवाई भाडादर ‘मिडिल रेञ्ज’मा राख्ने निर्णय गराउन, गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गराउन मन्त्री पाण्डे सफल देखिएका छन् । पछिल्लो समय पशुपति गौशाला धर्मशालाको विषय टुङ्याउन नसक्दा केही अपजस खेपिरहेका उनले द्धन्द्ध चर्काउन विषयलाई भने मत्थर गराउँदै लगेका छन् । आर्थिक प्रलोभनमा नपर्ने र इमान्दार मन्त्रीको सूचीमा राखेर उनले आफूलाई अब्बल सावित गर्ने संभावना भने जिवीतै छ ।

तपाइँको प्रतिक्रिया