शनिबार, पुष ६, २०८१ |Sun Dec, 2024
अक्ल्याण्डको समय: ०५:५६ |सिड्नीको समय: ०३:५६ |काठमाडौंको समय: २२:४१

विश्वभर वडादशैंको रमझम : मान्यजनबाट टीका लगाउनेक्रम जारी

एएनजेड खबरअक्टोबर १३, २०२४

काठमाडौँ । काठमाडौँमा टीका लगाउनको लागि मान्यजनकोमा जाने मैजारो चलिरहेको छ । विजया दशमीदेखि ठूलावडा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ ।

शुभ साइतमा घरमा टीका लगाएर अहिले मानिसहरू आफ्ना मान्यजनको हातबाट टीका लगाउन आफन्तकोमा गइरहेका छन् । क्षेत्रगत हिसाबले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाइन्छ । शनिबार बिहान ११ः३६ को शुभ साइतमा टीका लगाएर अहिले मानिसहरू आफ्ना मान्यजनको हातबाट टीका लगाउन आफन्तकोमा गइरहेका छन् ।

सार्वजनिक सवारी पनि फाटफुट मात्रै चलेता पनि मानिसहरू ट्याक्सी र अन्य निजी सवारीका साधनबाट आफ्नो गन्तव्यतर्फ गइरहेका छन् । शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीदेखि जनसाधारणलाई टीका र जमरा प्रदान गरेका छन् ।

आफूले बिहान ११ः३६ बजेको शुभ साइतमा टीका लगाएपछि आफन्तलाईलाई टीका लगाइदिएर राष्ट्रपति पौडेलले दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक जनसाधारणलाई पनि टीका लगाइदिएका हुन् ।

विजयादशमीका दिन राष्ट्रको अभिभावकका रुपमा राष्ट्राध्यक्षबाट हजारौँ नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन् । राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिहरुले पनि निरन्तरता दिँदै आएका छन् । उता पूर्वराजाले पनि निर्मल निवासमा जनसाधारणलाई टीका लगाइदिएका छन् ।

आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आइतबार पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।

तपाइँको प्रतिक्रिया