सोमबार, कार्तिक ५, २०८१ |Mon Oct, 2024
अक्ल्याण्डको समय: १०:३३ |सिड्नीको समय: ०८:३३ |काठमाडौंको समय: ०३:१८

एनएडिएफलाई गहन विचार मन्थनको थलो बनाइने छ – नवनिर्वाचित अध्यक्ष डा. रेग्मी

शिव तिवारीअक्टोबर ६, २०२४

अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका नेपाली समुदायबीच लोकतन्त्रका मुल्य मान्यता पर्बद्धन गर्न २५ वर्ष अगाडि स्थापित नेपालिज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ)मा डा. ज्ञानेन्द्र रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

नयाँ कार्यसिमितिको उपाध्यक्षमा छवि सापकोटा, महासचिवमा हरिकृष्ण अधिकारी, सचिवमा निजन चौलागाईं, कोषाध्यक्षमा विकास झा र युवा संयोजकमा भुपेन्द्र कँडेल सर्वसम्मत नै चयन भएका छन्। यसैगरी सुजन निरौला, सुरेन्द्र श्रेष्ठ र रमेश केसी कार्यसमितिमा सदस्यमा चयन भएका छन्।

एनएडिएफको नयाँ कार्यसमिति चयन र नेतृत्व हस्तान्तरण हालै सिड्नीमा नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरण पौडेलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा न्यु साउथ वेल्सका लागि नेपालका अवैतनिक वाणिज्यदूत संजीव शर्मा र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनएडिएफका पूर्व अध्यक्ष र पदाधिकारीको पनि उपस्थिति रहेको थियो।

नयाँ कार्यसमिति चयनका लागि सुरेन्द्र सापकोटाको संयोजकत्वमा विवेक थापा, महेन्द्र लम्साल, सुरेन्द्र सिग्देल र बालचन्द्र भट्टराई सदस्य रहेको निर्वाचन समिति बनाइएको थियो।

नवनिर्वाचित अध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले एनएडिएएफलाई लोकतान्त्रिक विचार मन्थनको थलोको रुपमा अझ सशक्त रुपमा स्थापित गर्ने बताएका छन्। अष्ट्रेलियामा रहेको प्रभावशाली नेपाली समुदायको राजनीतिक सम्बन्ध स्थापित गर्ने प्रयासमा पनि एनएडिएफ लाग्ने रेग्मीले दृढता व्यक्त गरेका छन्। एएनजेडखबरसँग कुरा गर्दै रेग्मीले लोकतन्त्र, नेपालको विपद रोकथाम र व्यवस्थापन, गैरआवासीय नेपालीका नागरिकताका जस्ता नेपाली समुदायका मुख्य मुद्दामा एनएडिएफले गहन ज्ञान उत्पादनमा जोड दिने दृढता व्यक्त गरेका छन्। नेपाली समुदायबाट सफलता प्राप्त गरेका व्यक्ति र समूहलाई अष्ट्रेलियाको नेपाली समुदाय र नेपालको हीतमा प्रयोग गर्ने विषयमा एनएडिएफले सक्रिय पहलकदमी लिने पनि डा. रेग्मीले बताए।


अष्ट्रेलियामा नेपालको राजदूतावास स्थापना हुनु अगाडि नै स्थापित एनएडिएफ अष्ट्रेलियामा रहेका नेपाली माझ लोकतान्त्रिक मुल्य मान्यतामा विचार विमर्श गर्ने र नेपालको लोकतन्त्रलाई समेत योगदान गर्ने संस्थाको रुपमा परिचित रहेको छ।

तपाइँको प्रतिक्रिया