शुक्रबार, कार्तिक २, २०८१ |Fri Oct, 2024
अक्ल्याण्डको समय: २१:३८ |सिड्नीको समय: १९:३८ |काठमाडौंको समय: १४:२३

नेपालमा बाढी, पहिरो पीडितलाई सक्दो सहयोग गर्न हेल्प नेपाल अष्ट्रेलियाको अपिल

एएनजेड खबरअक्टोबर ६, २०२४

अष्ट्रेलिया । नेपालमा शिक्षा, स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले नेपालमा हालै भीषण बाढी र पहिरोबाट प्रभावितहरुका लागि सक्दो सहयोग गर्न संसार भरिरहेका नेपालीहरु तथा नेपालका मित्रहरुलाई आह्वान गरेको छ।

हामीलाई देशै भरिबाट बाढी पीडित परिवारहरुका लागि खाद्यान्न, पानी शुद्ध गर्ने सामग्री, औषधि, टेन्ट, जस्तापाता, कपडा, ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउन माग आइरहेको छ। विगतमा झैं यो मानवीय कार्यमा सघाउन हामी अष्ट्रेलिया लगायत संसारभरि रहनु भएका प्रवासी नेपालीहरु, नेपाली संघसंस्था तथा नेपालका मित्रहरुलाई हार्दिक अपिल गर्दछौं,’हेल्प नेपाल नेटवर्क अष्ट्रेलिया च्याप्टरका अध्यक्ष सन्तोषी गौतमले भनिन् । उनले संकलित सम्पूर्ण रकम बाढी तथा पहिरो पीडितहरुको सहयोगार्थ पठाइने र कुनै पनि प्रशासनिक काममा खर्च नगरिने पनि जनाइन् ।

हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले ‘गोफन्डमी’ मा गएर मन खोलेर सहयोग गर्न आग्रह गरेको छ।

https://www.gofundme.com/f/support-nepal-urgent-disaster-relief-fund?utm_campaign=fp_sharesheet&utm_content=amp8_t2&utm_medium=customer&utm_source=facebook

गत सेप्टेम्बर महिनाको अन्तिम साता नेपालमा भएको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २३० जना भन्दा बढीको ज्यान गएको छ भने अरु कैयौं बेपत्ता भएका छन्। त्यस्तै पूर्वाधार, निजी आवास तथा बालीनाली समेत गरी अरबौं रुपिया बराबरको क्षति भएको छ।

‘सन् २०१५ को महाभूकम्प वा कोभिड तथा गत वर्ष मात्रै जाजरकोट क्षेत्रमा गएको भूकम्पबाट प्रभावित समुदायलाई सक्दो सहयोग गर्न हाम्रा स्वयम्सेवकहरु अग्रपंक्तिमा खटिएका थिए। त्यो सबै तपाईंहरुकै महत्वपूर्ण सहयोगबाट सम्भव भएको हो। यस पटक पनि बाढी तथा पहिरो पीडितहरुलाई अत्यावश्यक मानवीय सेवा पुराउन सबै मित्रहरुबाट सक्दो सहयोग प्राप्त हुने हामीले विश्वास लिएका छौं,’ हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले भने। उनले सहयोग संकलन तथा वितरण सम्पूर्ण रुपमा पारदर्शी हुने पनि जनाए।

तपाइँको प्रतिक्रिया