शनिबार, मंसिर ८, २०८१ |Sun Nov, 2024
अक्ल्याण्डको समय: ०५:२८ |सिड्नीको समय: ०३:२८ |काठमाडौंको समय: २२:१३

राजदूत चित्रलेखा यादवको कार्ययोजना : अष्ट्रेलियामा नेपाली दूताबासको भवन बनाउने

एएनजेड खबरअक्टोबर ३, २०२४

काठमाडौं । अस्ट्रेलियाका लागि राजदूतका रुपमा चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ । उनले दूताबासको आफ्नै भवन निर्माण गर्नेलगायतका दर्जन बढी कार्ययोजनालगायतका कार्ययोजना प्रश्तुत गरेकी छिन् ।

संसदीय सुनुवाइ समितिले राजदूत सिफारिस यादवको सुनुवाइका क्रममा राजदूतका रूपमा काम गर्दा नेपाली विद्यार्थीहरूलाई समन्वयन गर्ने, नेपाली व्यवसायीका समस्या सम्बोधनको प्रयास गर्ने, अस्ट्रेलियालीहरूलाई नेपालमा पर्यटकका रूपमा पठाउन प्रयास गर्ने, क्रिकेट खेलमैत्री वातावरण निर्माणको प्रयास गर्ने र अस्ट्रेलियाबाट हुने लगानी वृद्धिका लागि पहल गर्ने बताएकी थिइन् ।

विश्वसमुदायमा नेपालको सम्मान, प्रतिष्ठा र छवि अभिवृद्धि गर्दै समग्र राष्ट्रिय हित प्रवर्धन गर्न भरमग्दुर प्रयास गर्नेछु’, यादवले कार्ययोजनामा भनेकी छन् । त्यस्तै उनले विदेशी पर्यटकलाई नेपाल आउने दिने भिसा सरल रूपमा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै स्थानीय सरोकारवालाहरूसँग छलफल गरी थप प्रभावकारी बनाउन प्रयत्न गर्ने बताएकी छन् ।

उनले आफू राजदूत भएमा दूतावासको आफ्नै भवन निर्माण कार्यलाई आरम्भ गरी सम्पन्न गर्ने गराउनेतर्फ विशेष पहल गर्ने पनि बताएकी छन् ।

उनले नेपाल र अस्ट्रेलिया र सह प्रमाणीकरण भएका राष्ट्रहरूको बिचमा स्थापित बहुआयामिक र बहुपक्षीय सुमधुर सम्बन्धलाई नेपालको बृहत्तर राष्ट्रिय हित अभिवृद्धि गर्ने गरी अझ बढी सुदृढ बनाउन अधिकतम कोसिस गर्ने पनि बताएकी छिन् ।

उनले नेपाल र अष्ट्रेलियाबिचको विश्वास, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउनेमा जोड दिँदै नेपाल र नेपालीको हित आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएकी छन् । अष्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता अर्यालको पृष्ठभूमिका समस्या देखिएपछि सरकारले यादवको नाम सिफारिस गरेको थियो ।

तपाइँको प्रतिक्रिया