सोमबार, कार्तिक ५, २०८१ |Mon Oct, 2024
अक्ल्याण्डको समय: ११:३६ |सिड्नीको समय: ०९:३६ |काठमाडौंको समय: ०४:२१

सिड्नीमा गुन्जिए रामकृष्ण ढकाल, सुरु गरे अस्ट्रेलिया टुर

एएनजेड खबरअक्टोबर १, २०२४

सिड्नी । लोकप्रिय गायक रामकृष्ण ढकालले अस्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट अस्ट्रेलिया टुर सुरू गरेका छन्। शनिबार बेलुकी सिड्नीस्थित रगडेलमा अवस्थित इन्द्रेणी फन्सन सेन्टरमा आयोजित रामकृष्ण ढकाल अस्ट्रेलिया टुरमा उनले आफ्ना नयाँ तथा पुराना गीत प्रस्तुत गरे।

बिहान उठ्नेबितिकै बोलको गीत गाउँदै स्टेजमा देखिएका गायक ढकालले आफ्ना लोकप्रिय गीत बाँचुनजेलीलाई, चरीले त छाडेर गइहाली, नजिक आउनुमा, ओराली लागेको हरिणको चाल भोलगायत गीत प्रस्तुत गरेर अस्ट्रेलिया सिड्नीवासी नेपालीलाई मन्त्रमुग्ध पारेका थिए।

गायक ढकालले स्थानीय ब्याण्डका साथ स्वरसम्राट नारायण गोपालका गीत प्रस्तुत गर्दा दर्शकले प्रत्यक्ष नारायण गोपाललाई सुनेको प्रतिक्रिया दिएका थिए। सांगीतिक कार्यक्रमको अन्त्यमा उनले आफ्नो डान्सिङ नम्बर ए माया जदौ गाउँदा दर्शक गीतको तालमा नाचेर रमाएका थिए।

रामकृष्णले सन् २००९ देखि नै अस्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथोपटक रहेको गाएको बताए। ‘अस्ट्रेलियामा मैले सँधै माया पाउने गरेको छु, यसका लागि मसँग धन्यवाद भन्ने शब्द छैन। मैले यहाँ ट्रयाक र ब्यान्ड गरी दुई चरणमा गीत गाएँ। यसपटकको अस्ट्रेलिया टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा म निकै उत्साहित छु,’ गायक ढकालले भने।

कार्यक्रममा गायक ढकालले नेपाली संगीतलाई विश्वभर चिनाउन पुर्‍याएको योगदान र संगीतमा दिएको निरन्तरताको कदर गर्दै उनलाई सम्मान गरिएको थियो। सो अवसरमा गायक ढकालले आफ्नो गीत जीवनको हिसाबको वर्ल्ड प्रिमियरसमेत गरे। ढकालले गीतमा आर्थिक अभावका कारण जीविकोपार्जनका निमित परदेसिन बाध्य नेपालीको कथा प्रस्तुत गरिएको बताए ।

पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रममा गायक ढकालले तीन घण्टा आफ्नो गीतमार्फत दर्शकलाई सांगीतिक मोहमा बाँध्न सफल भएका थिए। आयोजक पाल्पा सर्भिसेसका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम भव्य र सभ्य रूपमा सफल भएको बताए।

गायक ढकालले यसपटकको दशैं अस्ट्रेलियामै मनाउने भएकाले विभिन्न शहरमा आफू प्रस्तुत हुने बताए। ढकालले न्युक्यासल, एडिलेडगायत सहरमा आफ्नो प्रस्तुति तय भइसकेको जानकारी दिए।

तपाइँको प्रतिक्रिया