बाढी, पहिरो र डुबानको चपेटामा नेपाल, विपदमा सक्रिय भएन एनआरएनए
काठमाडौँ। पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिवार साँझसम्म ६६ जनाको मृत्यु भएको छ।
गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन्। हालसम्म विपद्मा परेर ६० जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ।
उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ। जसमा काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो। त्यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ।
त्यसै गरी ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका छन्।
अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ। दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ।
विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ। राहत तथा उद्धारमा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन्। जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।
उता, कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।
पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले शनिबार एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए ।
त्यस्तै, नारायणगढ मुग्लिङ(नागढुङ्गा सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सो सडकमा सवारी सञ्चालनमा पूर्ण रोक लगाएको हो।
बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध छन् । सडक विभाग कार्यालयले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन्।
प्रारम्भिक विवरण अनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन् भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिएका छन्।
तर देशमा विपद पर्दा तत्काल राहत संकलनमा जुट्ने गैर आवासीय नेपाली संघ(एनआरएनए) यस पटक भने मौन छ । चरम राजनीतिमा रुमल्लिएको एनआरएनए मुद्दामा मामिलामै व्यस्त रहँदा उत्तरदायित्वबाट विमुख भएको छ । सर्वोच्च अदालतले यसअघि गरेको दुई वटा अलग अलग फैसला एक आपसमा बाझिएपछि संस्था कोमामा पुगेको छ ।
देशमा संकट वा विपत्ति आइपर्दा तुरुन्तै एक्सनमा देखिने सामाजिक कार्यमार्फत लोकप्रिय हासिल गरेको एनआरएनएले अहिलेसम्म आधिकारिक निर्णय गर्न सकेको छैन । विश्वभरका आफ्ना एनसीसीहरुलाई राहत संकलन र सरकारलाई आर्थिक सहयोग जुटाउन कस्सिने संस्था छिन्नभिन्न अवस्थामा गुज्रिरहेको छ । आफ्रना नियमित कार्यक्रम समेत गर्न सकेको छैन भने विश्वभरका एनआरएनएहरु संस्थामा देखिएको राजनीतिक खेलप्रति असन्तुष्ट देखिएका छन् ।
तपाइँको प्रतिक्रिया