आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:४२ |सिड्नीको समय: १७:४२ |काठमाडौंको समय: १३:२७

भारतीय गायिका आशा भोसलेसँग मोहन राईको युगल गीत मुम्बईमा रेकर्ड

एएनजेड खबरसेप्टेम्बर २२, २०२४

काठमाडौं । ख्यातिप्राप्त भारतीय गायिका आशा भोसलेले गायक मोहन राईसँग युगल गीत गाएकी छन्। मोहनले हालैमात्र मुम्बइ पुगेर ८४ वर्षीय रञ्जित गजमेरको संगीत र ९२ वर्षीया आशा भोसलेसँगको युगल स्वरमा यो हाम्रो माया बोलको गीत रेकर्ड गराएका हुन्।

‘ऐतिहासिक र दुर्लभ क्षण बटुलेर फर्किएको छु। गायक कैलाश खेरको कैलाश स्टुडियो मुम्बईमा उहाँसँग गीत रेकर्ड गराउने अवसर मिल्यो’ गायक राईले भने ‘आशा दिदीलाई नेपाली संगीतमा भित्र्याउने रञ्जित गजमेरकै सामिप्यतामा रहेर गीत रेकर्ड गराएको छु।’

मोहनले आफ्नो प्रकाशोन्मुख तेस्रो एल्बमका लागि आशासँग गीत गाएका हुन्। ‘मायाको खेल र कस्तो सपनापछि नयाँ एल्बमको तयारी गरिरहेको छु। चारवटा गीत तयार भइसके। यी गीतमा बामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ र अशोक वान्तवाको रचना तथा संगीतमा रन्जित गजमेर, नरहरी प्रेमी र कन्काइस्ट राईले साथ दिनुभएको छ’ गायक राइले जानकारी गराए।

मोहनले संगीतमा रुचि राख्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सिक्किमका पूर्वमुख्यमन्त्री डा. पवन चाम्लिङ (किरण) लगायतका नेता, कर्मचारी प्रशासकको गीत गाउँदै आएका छन्।

इलाम निवासी राईले २०७१ सालमा नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट आफ्नो पहिलो एल्बम विमोचन गराएका थिए। उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय विभुषणबाट पनि विभूषित भएका थिए।

तपाइँको प्रतिक्रिया