मैले चिनेको राजमान थकाली : मन केसी
विदेशी भूमिमा यसरी अस्तायो एक साहसिक नेपाली तारा
एउटा करिब अठार वर्षको नेपाली ठिटो नेपालमा उदाउदै गरेको द्वन्द्वको कारणले गर्दा उसका सपनाहरूको खोजीमा करिब १९९६ तिर विदेशिन्छ। उसको रोजाई उच्च शिक्षा आर्जन र अवसरको खोजीमा बाबु आमाको काख र हुर्के खेलेको भूमि छोडेर अनिश्चित भविष्यको खोजीमा बर्षै पिच्छे विदेशिने लाखौं युवाहरूको भन्दा पृथक थिएन। थियो त केवल नेपालमा सुरु भएको बाध्यकारी लहरको सुरुवाती दिन थियो। यसले भविष्यको केही संकेत गरिरहेको थियो। खतराको खेलाडी भएर युद्ध खेप्ने, युद्धमा होमिने वा शान्तिपूर्वक अवसरको खोजीमा विदेशिने विकल्पहरूको ढोका खोल्दै थियो। शायद यो कलिलो युवामा पहिलो विकल्पको लागि त्यति ठूलो साहस थिएन, त्यसैले अवसरमा विदेशिने उपाय रोज्यो, हामी धेरैले जस्तै।
समय बलवान हुन्छ। समयको बहादुरीसँगै अस्ट्रेलियाको अवसर मुलक भूमिमा उसले धेरै दुख गर्यो। संघर्षको फेहरिस्त लेख्यो। उसले आफ्नो दुख, परिश्रम र मेहनतको कथा लेख्दै गयो। आफ्नो दुख कसैलाई बाँड्न चाहेन। बाँड्यो त केवल उसको सदाबहार मुस्कान, सकारात्मक सोच, हौसला, जोश, जागर र केही गर्दै जाने परिश्रमको कथा।
धेरैलाई रोजगारी दियो, नेपाली खानामध्येका लोकप्रिय थकाली खानालाई अस्ट्रेलियामा बिस्तार गर्ने जमर्को गर्यो। भावनात्मक रूपमा सबैलाई भावुक बनाउने शब्द मुग्लान नामको रेस्टुरेन्ट व्यवसायबाट करिब डेढ दशक अगाडि उसले रेस्टुरेन्ट व्यवसायको यात्रा सुरु गर्यो। कुनै समय यस्तो थियो, उसको सिड्नीको रेस्टुरेन्टमा गैर नेपाली ग्राहकहरूको भिडले खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो। त्यसको अपार सफलताले उसले अन्य धेरै शाखा अस्ट्रेलिया र नेपालमा बिस्तार गर्दै गयो। उसले सम्भावना देखेका अन्य धेरै व्यवसायिक क्षेत्रमा हात बढाउँदै गयो। कहीँ लड्यो होला, उठ्यो होला, दौड्यो होला। भित्री र व्यक्तिगत कारोबारको समीप्यमा हामी रहेनौं तर बाहिरी सामुदायिक र सत्बजनिम जानकारीमा रहेको, देखेको र चिनेको राजमान एउटा साहसिक, सिर्जनशील र कहिले नथाक्ने, सहयोगी र सधैं केही गरिरहने चाहने युवा व्यवसायी, सामाजिक अभियन्ता र खेलप्रेमी पहिचान बोकेको व्यक्ति हो। उसले २००३ तिर थन्डरस्टोर्म फुटबल क्लब सुरु गर्दा आर्नक्लिफमा रमाइलोको लागि खेल्ने देखि, २००३ तिरै उसले ट्रान्सपोर्ट व्यवसाय गर्दा उसको ग्राहक हुनेदेखि, उसले सुरु गरेका अस्ट्रेलिया र नेपालमा रहेका हस्पिटालिटी व्यवसायहरूमा ग्राहक हुने अवसर पाएका हामी धेरै साथीभाइहरू उसको अभाव खट्किने महसुस गरिरहेका छौं।
राजमान त आज हामी बीच छैन। उसको कथा, उसका साहसिला र रमाइला कुराकानी, याद र अनुभवहरू हामीबीच छन्। उसको जीवन यात्राबाट सिक्न सकिने थुप्रै यादहरू हामीबीच छन्, धेरै राम्रा र केही कम राम्रा पनि हुन सक्छन्। उसको सिकाइ र भोगाइ धेरैलाई प्रेरणा बन्न सक्छ र कसैलाई सतर्कता अपनाउनु पर्ने मार्गदर्शन पनि बन्न सक्छ।
विदेशी भूमिमा जिन्दगीको यात्रा सुरु गर्दा, घर बसाउँदा, व्यवसाय गर्दा वा काम गर्दा, समयमा खा, सुत, आराम गर भन्ने कोही नहुन सक्छ। श्रीमान श्रीमती हुँदा पनि, कामको बाध्यताले दौडिरहने हुन सक्छ। थाहा हुँदाहुँदै पनि समयमा खाने, पिउने, सुत्ने, आराम गर्ने समय तालिका हुँदैन। शरीर र स्वास्थ्य भनेको घर बनाउने जग जस्तै हो।
तल कमजोर भएर माथि मजबुत हुन सक्दैन। घरको जग बलियो नभएपछि माथिल्लो तला मजबुत बन्न सक्दैन। त्यसैले, शरीर र स्वास्थ्यलाई पनि बलियो बनाउनुपर्छ। चालिस कटेपछि रमाउँला भन्ने उक्ति अरू ठाउँमा लागू होला तर स्वास्थ्यको कुरामा हुन सक्दैन। त्यो नगर्दा सबै चीज पुग्दै जाँदा आफैलाई ढिलो भइसकेको हुन्छ। एउटा राजमान हामीबीच नरहँदा यसले घर, परिवार, साथीभाइ, समाज, व्यवसायिक सम्बन्ध भएका व्यक्तिहरूलाई दिने अनुभव सारै पीडादायी हुन्छ। अर्को कुरा व्यापार व्यवसाय बढाउँदै गर्दा पनि, उमेर, अवस्था, व्यवस्था, स्वास्थ्य स्थिति लगायत सबै कुराको लेखा जोखा गर्दै बढ्नुपर्छ। शायद राजमानलाई हामीले दिने आदर, सम्मान, आत्माको शान्तिमा पनि हामीबाट उसले यही चाहन्छ।
अन्तमा राजमान, तिमीले देशभित्र र बाहिरको नेपाल, नेपाली र नेपालीत्वलाई गरेको योगदानको उच्च कदर र सम्मान सदा रहिरहनेछ।
अलविदा।
मन के सी सिड्नी, अस्ट्रेलिया
तपाइँको प्रतिक्रिया