बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:१७ |सिड्नीको समय: ०२:१७ |काठमाडौंको समय: २२:०२

तीन वर्षमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै नेपाल छाडे

एएनजेड खबरअगस्ट २३, २०२४

काठमाडौं । गत आर्थिक वर्ष २०८०।८१ को साउनको तुलनामा चालु आव २०८१।८२ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् भने गत आवको सो अवधिमा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ५५ हजार ५७५ थियो । चालु आवको पहिलो महिना साउनमा श्रम स्वीकृति लिने महिलाको सङ्ख्या आठ हजार १४५ रहेको छ ।

विभागका निर्देशक गुरुदत्त सुवेदीले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको बताए ।

पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि स्वदेशमा केही विकल्प नदेखिपछि नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेका कारण श्रम स्वीकृतिको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ ।

गत आवको तथ्याङ्कसहित विगत तीन वर्षमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै नेपाल छाडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख १३ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएकासमेतको हो ।

तपाइँको प्रतिक्रिया