बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:२४ |सिड्नीको समय: ०२:२४ |काठमाडौंको समय: २२:०९

क्यानबेरामा राजदूत पोखरेलको विदाई, नेपाली समूदायका लागि भएका कामको प्रशंसा

एएनजेड खबरअगस्ट १६, २०२४

क्यानबेरा । नेपाल सरकारबाट फिर्ता बोलाइएका अष्ट्रेलियाका लागि आवसीय राजदूत कैलाशराज पोखरेलको विदाइ गरिएको छ । राजधानी क्यानबेरामा एक विशेष विदाई कार्यक्रम आयोजना गरियो । पोखरेल अगष्ट २५ तारिख नेपाल फर्किने तयारीमा छन् ।

क्यानबेरास्थित ‘द चिम्नी नेपालीज रेस्टुरेन्ट’मा आयोजित एक विशेष समारोहमा एनआरएनए, एनएफएस, एसएसए, नेपाल कला संस्कृति तथा साहित्य प्रतिष्ठान, ओएनएफ, एनपीपीएफ, सीएनएफसी, फेएनसीएए, तामाङ घेदुङ क्यानबेरा, सीएनसी (अभिषेक उप्रेती), सीएनभीसी (राई कुमार केसी), गुठी क्यानबेरा, जनसम्पर्क समितिलगायतका संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा राजदूत पोखरेललाई खादा ओढाएर सम्मानित गरियो । उनले आफ्नो कार्यकालका अनुभवहरू सुनाउँदै नेपाली समुदायको एकताको प्रशंसा गरे। नेपाली संघसंस्थाहरूले राजदूत पोखरेललाई मायाको चिनो प्रदान गर्दै उनको योगदानको उच्च मूल्यांकन गरेका थिए।

सन् २०२२ मा नियुक्त भएका राजदूत पोखरेलले अस्ट्रेलियाका गभर्नर जनरल डेविड हर्लेलाई आफ्नो परिचय पत्र पेश गर्दै आफ्नो कार्यकाल सुरु गरेका थिए, जसले दुई देशबीचको आपसी सम्मान र सहयोगलाई अझ बलियो बनाएको थियो।

राजदूत पोखरेलले दुई वर्षभन्दा लामो कार्यकालमा अस्ट्रेलिया र न्युजिल्यान्डसहित अन्य प्रशान्त राष्ट्रहरूमा नेपालका गैर आवासीय राजदूतको रूपमा महत्वपूर्ण भूमिका निभाएका थिए। विशेषगरी, नेपाली विद्यार्थी र समुदायसँगको नजिकको सम्बन्धमा उनले ठूला चुनौतीहरूको सामना गर्दै विभिन्न समस्याहरूको समाधान गरेका थिए।

पासपोर्ट नवीकरण, टिफा सम्झौता, र अन्य कूटनीतिक समस्याहरूको समाधान गर्दै उनले नेपाली विद्यार्थी र अस्ट्रेलियामा रहेका नेपाली समुदायको पक्षमा उल्लेखनीय योगदान दिएका थिए । उनकी श्रीमती वसुधा पोखरेलले पनि अस्ट्रेलियामा रहेका नेपाली महिलाहरूको सहयोगमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

तपाइँको प्रतिक्रिया