शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:२७ |सिड्नीको समय: ०७:२७ |काठमाडौंको समय: ०३:१२

सिड्नीबाट बेपत्ता सुभाषको खोजीका लागि नगर प्रमुख खरेलको सक्रियता, काठमाडौं दूताबासमा निवेदन

एएनजेड खबरअगस्ट १५, २०२४

काठमाडौं । अष्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखेको खोजीका लागि काभ्रेको पाँचखाल नगर प्रमुखले सक्रियता देखाएका छन् । उनको अगुवाइमा नेपालस्थित अष्ट्रेलियन राजदूताबासमा पुगेर राजदुत फेलिसिटी वोल्कलाई निवेदन बुझाइएको छ ।

गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको छ । परिवारका सदस्यसहित प्रमुख मेयरको टोलीले राजदूत वोल्कलाई भेटेर तदारुकताका साथ बोलाखेको खोजी गरिदिन आग्रह गरेको थियो । ‘राजदूतज्यूले सकरात्मक प्रतिक्रिया दिनुभएको छ । नेपालबाट अष्ट्रेलियन सरकारलाई गर्ने पहल गर्छौ र तुरुन्तै पत्र पठाउँछौं भन्नुभयो । हामी आशावादी छौं,’ मेयर खरेलले एएनजेट खबरसँग भने ।

सो अवसरमा नगरप्रमुख खरेलले राजदूत भोल्कलाई ‘सुभाष’को कागजातसहित खोजबिनका लागि निवेदन दिएका थिए । औपचारिक भेटघाटलगत्तै दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रहसमेत गरेको छ ।

यसैगरी, बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ ।

न्यूसाउथवेल्स प्रहरीले उनको खोजी भइरहेको जनाएपनि परिवार भने नेपालमा चिन्तित छ । १० महिनाअघि अष्ट्रेलिया अध्ययनका लागि आएका सुभाष निरन्तर परिवारकै सम्पर्कमा थिए । उनीसँगै बस्दै आएका एकजना साथी विवाहका लागि नेपाल गएको समयमा घटना भएका कारण उनी कसैलाई केही नभनी सम्पर्कबाहिर छन् ।

२८ वर्षीय सुभाषलाई कोग्रा प्रहरीले सिड्नी सिविडी, कोग्रा, बालमियान, बेक्स्ली क्षेत्रमा आवत जावत गरेका कारण यिनै क्षेत्रमा खोजी अघि बढाएको जनाएको छ । काभ्रेको पाँचखाल नगरपालिका–७ का बोलखे २० दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया