शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४८ |सिड्नीको समय: ०७:४८ |काठमाडौंको समय: ०३:३३

अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस कान्ता रिजालको यस्तो छ विगत

एएनजेड खबरजुलाइ ३०, २०२४

काठमाडौं । अष्ट्रेलियाका लागि आवासीय राजदूतमा कैलाशराज पोखरेल फिर्ता हुने भएका छन् । उनको स्थामा कान्ता रिजाललाई नियुक्त गर्न सरकारले सिफारिस गरेको छ । रिजाल यसअघि इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अष्ट्रेलियामा रिजालको नाम राजदूतका लागि सिफारिस गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेसको केन्द्रीय सदस्य रहेकी उनी केन्द्रीय नीति तथा प्रशिक्षण विभागमा सदस्य थिइन् । उनी कांग्रेसका पुराना नेता गणेशप्रसाद रिजालकी छोरी हुन् । पाँचथरको साबिक आङसराङ १ मेहेलबोटेकी उनी उनी लामो समयबाट कांग्रेसको राजनीतिमा सक्रिय हुँदै महासमिति सदस्य समेत भएकी थिइन् ।

रिजाल पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट समानुपातिक तर्फको उम्मेद्धार समेत थिइन् । रिजालले महिला विकास अधिकृतको रुपमा समेत काम गरेको अनुभव छ । ०४९ सालमा उनी तेर्हथममा पहिलो महिला विकास अधिकृत भएर काम गरेकी थिइन । भारत कालिम्पोङमा स्कुले शिक्षा लिएकी उनले काठमाडौंको शंकरदेव क्याम्पसबाट आइकमदेखि एमवीएससम्मको अध्ययन गरेकी थिइन् ।

सन् २०१२ देखि ०२२ सम्म सेन्टर फर कन्सोलिडेसन अफ डेमोक्रेसी नेपालको महासचिव रहेको रिजाल काठमाडौंको इकेदा इन्टरनेशनल स्कुलको संस्थापक प्रिन्सिपल समेत हुन् । ०३८ सालमा जयनारायण आदर्श माबिमा नेविसंघ इकाइ गठन गरेर राजनीतिमा आएकी उनी ०४६ सालको आन्दोलनमा शिक्षित महिला बरोजगार संघ खोलेर महिला सहभागिताको बहस चर्काएकी थिइन् । नेदरल्याण्डमा महिला अधिकार र शसक्तीकरण सम्बन्धी अध्ययन समेत गरेकी छिन् ।

महिलाहरुको अवैध ओसारपसार नियन्त्रणसम्बन्धी युएनडिपीको परियोजना प्रमुख भएर काम गरिसकेकी उनले साउद एसियन महिलाहरुको राजनीतिक शसक्तीकरण सम्बन्धी एक फोरममा आठवटा देशहरुमा तर्फतबाट संयोजकको भूमिका समेत निर्वाह गरेकी थिइन । उनका बाबु गणेशप्रसादले ०१५ सालको संसदीय निर्वाचनमा चुनाव जितेका थिए । ०१७ सालमा तत्कालीन राज महेन्द्रले वीपी कोइरालाको सरकारलाई अपदस्थ गरेपछि गणेशप्रसाद पनि भारतमा निर्वासित जीवन विताएका थिए ।

विस.२०७९ असार १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले हाल फिर्ता बोलाइएका पोखरेललाई नियुक्त गरेकी थिइन भने सोही मितिमा रिजाललाई पनि इजरायलका लागि राजदूत नियुक्त गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया