शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:५२ |सिड्नीको समय: १२:५२ |काठमाडौंको समय: ०८:३७

राष्ट्रपति बाउसे र प्रधानमन्त्री हली बनेको असार १५

एएनजेड खबरजुन ३०, २०२४

काठमाडौं । असार १५ अर्थात राष्ट्रिय धान दिवसमा निकै रोचक दृश्यहरु सार्वजनिक भएका छन् । विशेषगरी राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले धान दिवस मनाएको तस्विरले दिनभर चर्चा पायो । ‘मानो रोपेर मुरी फलाउने’ भन्दै कृषकहरु धान रोप्न व्यस्त भएपनि राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिकात्मक रुपमा बाउसे र हली बनेको समाचारले सर्वत्र चर्चा पायो ।

नेताहरुले कृषकका खेतमा कार्यकर्तासहित पुगी धान रोप्दा कृषकलाई हौसला प्रदान पनि गरेको छ । तर, बर्सेनि मलको हाहाकार र त्योसँगै अर्बौंको धान आयात हुने आँकडा हेर्दा नेताहरु खेतमा पुगेर धान रोप्ने दृश्यले कृषकलाई गिज्याए जस्तो भान हुन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासको पछाडि भागको खाली जग्गामा बाउसे गरेका छन् । राष्ट्रपति कार्यालयको पछाडिको करेसामा नेपाली सेनाका जवानहरुले खनेर र पानी हालेर ठिक्क पारेको जमिनमा राष्ट्रपति पौडेलले कोदाली समातेर बाउसे गरेका हुन् । त्यहाँ उनले सकिनसकी कोदाली लिएर बाउसे गरेको देख्न सकिन्छ ।

प्रथम महिला तथा उनकी श्रीमती सबिताले बायाँ हातमा रोपोको मुठो समातेर दायाँ हातले साडीलाई हिलो लाग्नबाट जोगाउँदै धान रोपेकी छन् । उनीहरुले सैनिक सुरक्षा घेरामा असार १५ का दिन रोपाईं गरेर धान दिवस मनाएका हुन् । रोपाईंपछि शीतल निवासको पूर्वतिरको आँगनमा दही चिउरा कार्यक्रम राखिएको थियो ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा ट्याक्टर चलाएर हलीको अवतारमा देखिए । उनले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेशिनको प्रयोग गरी धान रोपेका हुन् ।

सो क्रममा जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको पनि उनले भन्न भ्याए । नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उनको भनाई थियो । रोपाइंमा उनीसँगै कृषिमन्त्री ज्वालाकुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो ।

नेपालमा अझै पनि यस्ता धेरै जमिन छन्, जहाँ सिँचाइको सुविधा नहुँदा आकाशे पानीको भरमा बाली उब्जनी गर्नुपर्ने अवस्था छ । पानी, बिउ, मल, कृषि औजार र रोपार एउटै थलोमा राखेर कृषि मन्त्रीले धान रोप्दाको अवस्था र मलसँगै बिउविजन र सिँचाइको सुविधाबाट वञ्चित कृषकहरुसँग तुलना गर्दा सरकारले मनाउँदै आएको धान दिवस कार्यक्रमले सरकारलाई नै गिज्याइरहेको त छैन भन्ने प्रश्न खडा हुन्छ ।

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ । सिचाईंको सुविधा छैन । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

तपाइँको प्रतिक्रिया