शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १६:३७ |सिड्नीको समय: १४:३७ |काठमाडौंको समय: १०:२२

नेपालको फितलो कूटनीतिक प्रयास, ६ नेपाली अझै युक्रेनी सैनिकको कब्जामा

एएनजेड खबरजुन १९, २०२४

काठमाडौं । रुसमा भाडाको सैनिकमा भर्ना भई युद्ध लड्दा युक्रेनी सैनिकको कब्जामा परेका ६ जना नेपालीलाई करिब ५ महिनादेखि युक्रेनमा युद्धबन्दी बनाइएको छ । युक्रेनबाट बन्दी भएका नेपालीहरूले आफूहरूलाई छुटाइदिन सरकारसँग हारगुहार गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् ।

सरकारले युक्रेनमा युद्धबन्दी बनाएका ६ नेपालीको विषयमा कूटनीतिक पहल राम्रोसँग गर्न नसक्दा उनीहरू छुट्न नसकेका हुन् । रुस–युक्रेन युद्धका क्रममा कब्जामा लिई युद्धबन्दी बनाइएका विभिन्न मुलुकका नागरिकलाई तीन महिनाअघि सार्वजनिक गर्दै युक्रेनले युद्धमा भाग नलिने सर्तमा छाड्ने भनेको थियो । तर, सरकारले युक्रेनको सो सर्तका विषयमा कुनै चासो दिन नसक्दा नेपाली छुट्न सकेनन् ।

युक्रेनमा हाल राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन् । प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारका तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो ।

युद्ध क्षेत्रबाट रिपोर्टिङ गरिरहेका युक्रेनका सञ्चारकर्मी आन्द्रे चाप्लिएङ्कले सार्वजनिक गरेको भिडियोनुसार, नेपाली नागरिक पुनलाई दक्षिण पूर्वी युक्रेनको जापोरिजी क्षेत्रबाट सेनाले कब्जामा लिएको थियो । उनी रुसको ७०औं मोटोराइज्ड राइफल रेजिमेन्टका सदस्य रहेको बताइएको थियो ।

नेपालको लगातारको प्रयासपछि मात्र युक्रेन नेपालसँग कूटनीतिक संवाद गर्न सहमत भएको थियो । अहिले नेपाल र युक्रेनबीच कूटनीतिक संवाद भए पनि नेपालीलाई छुटाउन कूटनीतिक पहल अझै पुग्न सकेको छैन ।

आफ्नो सैन्य हिरासतमा रहेका नेपाली छाड्न युक्रेनले नेपालसँग दीर्घकालीन सम्झौता गर्नुपर्ने प्रस्ताव राखेको छ । तर, नेपाली पक्षले भने आफ्ना नागरिक छुटाउन चासो देखाइरहेको छैन । युक्रेनले खासगरी रुससँगको युद्धमा विदेशी नागरिकलाई भर्ना हुनबाट रोक्न युक्रेनले सम्बन्धित मुलुकलाई पनि अपिल गर्दै आइरहेको छ ।

तपाइँको प्रतिक्रिया