आइतबार, मंसिर ९, २०८१ |Sun Nov, 2024
अक्ल्याण्डको समय: १७:४४ |सिड्नीको समय: १५:४४ |काठमाडौंको समय: १०:२९

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्यो, युएई पहिलो रोजाइमा

एएनजेड खबरजुन १९, २०२४

काठमाडौं । वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० जेठको तुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार गत जेठमा दक्ष भएर जानेको सङ्ख्या ६४ प्रतिशत रहेकोमा गएको जेठमा ७१ प्रतिशत पुगेको छ । गएको जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५१ हजार ६२० जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् । गत २०८० जेठमा ५९ हजार ४९९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा ३७ हजार ८९८ जना दक्ष भएर गएको विभागले जनाएको छ ।

विभागका अनुसार गएको जेठमा श्रम स्वीकृति लिएर विदेश गएकोमा उच्च दक्ष र व्यवसायी भिसामा श्रम स्वीकृति लिएर विदेश जाने ५८४ जना, अर्धदक्ष भएर जाने सात हजार २६ जना र अदक्ष १४ हजार ६३१ जना रहेका छन् ।

गत वर्षको जेठमा श्रम स्वीकृति लिएर गएका ५९ हजार ४९९ गएकोमा उच्च दक्ष र व्यावसायिक १६४ जना, अर्धदक्ष चार हजार ९७१, अदक्ष १२ हजार ४९७ रहेको थियो ।

चालु आव २०८०।८१ को ११ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या छ लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म रोजगारीका लागि छ लाख ८४ हजार ८६१ जनाले लिएका छन् ।

चालु आवको ११ महिनामध्ये सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

जेठ महिनामा पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेटस् युएई बनेको छ । यस अवधिमा युएईमा २० हजार ४२४ जनाले श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य साउदी अरब १३ हजार ३६६ जना, तेस्रो गन्तव्य कतार ११ हजार ९७३ जना गएका छन् । यस अवधिमा मलेसिया चौथो श्रम गन्तव्य आठ हजार ७५२ जनाले श्रम स्वीकृति लिएर गएका छन् ।

तपाइँको प्रतिक्रिया