शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १६:३७ |सिड्नीको समय: १४:३७ |काठमाडौंको समय: १०:२२

१० महिनामा रोजगारीका लागि ३१ हजार बढी महिलाले नेपाल छाडे

एएनजेड खबरजुन १४, २०२४

काठमाडौं । पछिल्लो समयमा रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या पनि बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०।८१ को पछिल्लो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढेको हो ।

सरकारले घरेलु श्रममा खाडी जाने महिलालाई रोक लगाए पनि पछिल्लो समय घरेलु श्रमबाहेकका कामका लागि संस्थागत श्रम स्वीकृति लिने जाने बढेको छ । विभागका अनुसार गत वर्षको १० महिनामा २७ हजार २१४ महिला वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएकोमा चालु आवमा ३१ हजार ५८५ पुगेका छन् । वैधानिकीकरण र पुनः विदेश जानेको सङ्ख्या त्योभन्दा बढी रहेको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत पाँच वर्षमा विदेश जाने महिलाको हिस्सा पाँच प्रतिशतबाट वृद्धि भएर १२ प्रतिशत पुगेको छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीमा जाने समग्र सङ्ख्या वृद्धिसँगै महिलाको हिस्सा पनि क्रमशः बढेको बताए ।

तपाइँको प्रतिक्रिया