शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १९:२८ |सिड्नीको समय: १७:२८ |काठमाडौंको समय: १३:१३

मह जोडीले अष्ट्रेलिया पुगेर दिएको अभिव्यक्ति विवादमा, माफी माग्न बाध्य

एएनजेड खबरमे २८, २०२४

सिड्नी । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना गरेका छन् । कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् ।

सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको निर्दोषिताको वकालत गरेका थिए । उनीहरूको अभिव्यक्ति निकै विवादमा परिरहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको विषयमा आरोपीको बचाउ गरेको भन्दै दुवैको आलोचना भएको छ ।

मह जोडीले आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका छन् । अपर्झट प्रतिक्रिया दिनुपर्दा अल्मलिएको उनीहरूको प्रष्टीकरण छ । मदनकृष्णले भनेका छन्, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’

हरिवंशले थपेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’

महजोडीको अभिव्यक्ति विवाददित भएपछि उनीहरूको अष्ट्रेलियाको कार्यक्रम पनि प्रभावित भएको थियो । उनीहरूको शोमा आउन टिकट काटेका धेरैले धमाधम टिकट रद्द गरिरहेका छन् । यसबाट दबाबमा परेपछि महजोडीले मुख खोलेका हुन् ।

तपाइँको प्रतिक्रिया