शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १९:२९ |सिड्नीको समय: १७:२९ |काठमाडौंको समय: १३:१४

‘बुद्ध जयन्ती मनाउँदा गुरु गोरखनाथलाई बिर्सन हुँदैन’

एएनजेड खबरमे २७, २०२४

काठमाडौँ । विभिन्न संघसंस्थासंग आबद्ध प्राज्ञ तथा अनुसन्धाताहरुले बुद्ध जयन्ती मनाउँदा राष्ट्र गुरु गोरखनाथलाई पनि नबिर्सन आग्रह गरेका छन्।

बुद्ध पूर्णिमा तथा गोरक्ष अक्षय जयन्तीका अवसरमा आयोजित एक अनलाइन कार्यक्रममा भाग लिंदै हिन्दु विद्यापीठ नेपाल दाङ्गका प्राचार्य डा भोलानाथ योगीले नेपाल राज्यको स्थापना र स्वतन्त्र अस्तित्व कायम गर्न बडा महाराजा पृथ्वी नारायण शाहलाई गुरु गोरखनाथको आशिर्वादको महत्व बिर्सन नहुने बताए। उनले हठ योगको माध्यमबाट गुरु गोरखनाथले मानव मात्रलाई ठूलो गुन लगाएको बताए। ‘हठ योगको अभ्यास नगरेर चित्त वृत्ति निरोध हुदैन।
प्राणायामद्वारा लोभको नाश हुन्छ,’ उनले भने।

विश्व ओमकार एकता महाअभियानका संयोजक तथा शान्ति सेवा आश्रम काठमाडौँका संस्थापक डा चिन्तामणि नाथ योगीले बैशाखी पूर्णिमा बुद्ध जयन्ति, गुरु गोरखनाथ प्राकट्य दिवस, चण्डी पूर्णिमा, उभौली, कुर्म जयन्तीको समन्वयात्मक संस्कृतिको उदाहरण भएको बताए ।

सहज र अनुशासित जीवन यापन गर्न गुरु गोरखनाथले दिएको शिक्षा अत्यन्तै उपयोगी रहेको बताए। नेपाल मात्रै हैन भारत वर्षको भ्रमण गरी गुरु गोरखनाथले स्थापना गरेका मठ मन्दिरले सैयौं वर्ष पछि पनि उनको संदेशलाई जोगाइ राखेको उनले बताए।

बाह्रपन्थी नाथ योगी संघका अध्यक्ष प्रा डा करवीरनाथ योगीले गुरु गोरखनाथको देशना अहिले अरु बढी सान्दर्भिक भएकाले थप अध्ययन अनुसन्धान र जगेर्ना गर्नु पर्ने बताए। विश्व हिन्दु महासंघका शंकर खरालले देशैभरि गोरखनाथ गुठीको सम्पत्ति अलपत्र परेकोमा चिन्ता व्यक्त गर्दै गुरु गोरखनाथका समाधि, गुफा र धुनीको संरक्षण गर्न आग्रह गरे।

व्यासाचार्य गुरु किशोर चन्द्र गौतमले भगवान शिव र गोरखनाथ यौटै हुन् भन्दै वीर गोर्खाली शब्द गोरखनाथबाट आएकोले राष्ट्रिय गौरव भएको बताए। ूगोरखनाथ परम्परा नेपाली र नेपालको परम्परा हो। यो परम्परा बिर्सिए हाम्रो पहिचान पनि बिर्सिन्छ। ू

अन्तरक्रियामा नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्प राज पुरुष, डिभाइन पाथ इन्टरन्याशनलकी अध्यक्ष योगिनी सरितानान्दी, हिमवत्खण्ड अध्यात्म परिषदका श्याम कृष्ण सुवेदी लगायतका वक्ताले गुरु गोरखनाथले प्रतिपादन गर्नु भएको दर्शनको अध्ययन, अनुसन्धान र अनुशीलन गरिनुपर्ने बताएका थिए।

गोरक्ष नाथ सेवा संघ, विश्व ओमकार एकता महाअभियान लगायत दुइ दर्जन संस्थाले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा अमेरिकामा बसोबास गर्ने अध्येता थलराज पन्तले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सहृदयता इन्टरन्याशनलका महासचिव राजन भारद्वाजले गरेका थिए।

सोही अवसरमा गोरक्षनाथ सिद्ध पीठ मृगस्थली, श्री गोरक्ष सिद्ध रत्ननाथ मन्दिर चौघेरा, दाङ्ग लगायतका सिद्ध पीठहरुमा पूजा अर्चना गरी रोट प्रसाद वितरण गरिएको थियो।

तपाइँको प्रतिक्रिया