आइतबार, मंसिर ९, २०८१ |Sun Nov, 2024
अक्ल्याण्डको समय: २१:२२ |सिड्नीको समय: १९:२२ |काठमाडौंको समय: १४:०७

बेलायत-नेपाल मैत्रीसन्धिको सय बर्ष : ऋषि सुनकले सम्झिए ब्रिटिस गोर्खा र डायस्पोराको योगदान

एएनजेड खबरमे २१, २०२४

लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक भएको उल्लेख गरेका छन् । उनले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको उनले प्रशंसा गरे ।

नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताए । विगतमा राजा चाल्र्सले गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त नेपाली ‘डायस्पोरा’को काम र उपलब्धिबाट आफू प्रेरित भएको बताए ।

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत–नेपालबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै बेलायतले नेपालको विकास प्रयासमा सहयोग गरिरहेको र त्यो जारी रहने बताए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट प्रधानमन्त्री सुनकप्रति शुभकामना व्यक्त गर्दै सन् १९२३ मा सम्पन्न मैत्रीसन्धिका विविध पक्षको चर्चा गर्दै मैत्रीसन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान भएको उल्लेख गरे ।

नेपाल र बेलायतबीच सन् १९२३ को मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाली समुदायको सहयोगमा सो समारोह सम्पन्न भएको हो ।

कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खा, बेलायतका सांसद तथा उच्चपदस्थ अधिकारी एवं नेपालका बेलायती मित्रहरूको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया