शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २१:४४ |सिड्नीको समय: १९:४४ |काठमाडौंको समय: १५:२९

संसदमा रवि भर्सेस गगन : आक्रोश, आवेग र आरोपको ओइरो

एएनजेड खबरमे २०, २०२४

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी गठीको आरोप लगाएपछि न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताएका छन् । उपप्रधानमन्त्री लामिछानेमाथि महान्यायाधिवक्ताको कार्यालय दुरुपयोग गरेर सहकारी ठगी प्रकरणमा बच्न खोजेको आरोप लागिरहेका बेला उनले सो स्पष्टिकरण दिएका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री लामिछानेले महान्यायाधिवक्ताको कार्यालयले पनि आफूलाई निर्दोष नै देखेर आफूमाथि सो सम्बन्धि कुनै मुद्दा, माफिमा नभएको जानकारी गराएको दाबी गरे । उनले आफूले बेलैमा संसदमा बोल्न पाएको भए यस सम्बन्धि विषय यति धेरै चर्केर जाने अवस्था नआउने दाबी समेत गरे । उपप्रधानमन्त्री लामिछानेले आफू संसदीय छानविन समिति बनाउने कुराको विपक्षमा कहिल्यै पनि नरहेको जिकिर पनि गरे ।

उनले भने, ‘म यतिकुरा मात्रै थप्न चाहन्छु– जसरी सहकारीका विषयमा कुराकानी उठिरहेको छ । ती सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन । मैले बारम्बार भन्दै आएको छु । कोही प्रतिवादी छैन । कसैको बयानले मलाई बोलेको छैन । केही ज्ञापनपत्र हरु पनि आएका छन् । त्यसको पनि मेरो नाम उल्लेख छैन । मैले अन्याय पर्दा मेरो बारेमा सूचना माग्न काही न काही जानै पर्ने थियो । व्यक्तिका रुपमा न्याय खोज्न ज्यादा मैले महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेखेँ । उसले मलाई कहीँकतै मुद्दा नभएको, अभियोग नभएको पत्र दियो ।’

त्यस्तै, लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापा लक्षित गरी विभिन्न प्रश्नहरू उठाएका छन् । लामिछानेले थापालाई लक्षित गर्दै कृषि अनुदानको रकम हिनामिना गरेकोदेखि देशको सूचना बेच्ने एजेन्टसम्मको आरोप लगाएका छन् ।

उनले भने,‘कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ । दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔँ, संसदबाट हटाऔँ । जतिसुकै शक्तिशाली होस, देशको मन्त्री होस वा पार्टीको महामन्त्री किन नहोस् ।’

गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री थापालाई लक्षित गर्दै २०५५ सालमा स्ववियु सभापति हुँदा त्रिचन्द्र कलेजमा पार्क निर्माणमा भ्रष्टाचार भएको ३० लाखभन्दा माथिको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको समाचार आएको, त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बनाउँछु भनेर ५ लाख पेस्की लिएर वेबसाइट नबनाएको समाचार आएको, व्यावसायिक कृषि आयोजना प्याक्टबाट सुनखानी कृषि फार्मको नाममा १५ करोड लिएर नुवाकोटमा बाख्रा फारम र काठमाडौँको गोल्फूटारमा मासु पसल खोलेको र अनुदान लिएपछि बन्द गरेको समाचार आएको बताए ।

रकम हिनामिनाको आरोप लागेपछि प्याक्टलाई प्रभावमा पारेर रकम नलिएको विज्ञप्ति निकाल्न लगाइएको र सो विषयमा साउथ एसिया नामको संस्थाले फ्याक्ट चेक गरेको तर पछि वेवसाइटबाट गायव पारिएको बताए ।

यस्तै स्वास्थ्य मन्त्री भएका बेला १४ करोड लिएर प्राध्यापक राजकुमार रौनियारलाई बिपी स्वास्थ्य प्रतिष्ठानमा कुलपति बनाएको र उनलाई पैसा बुझाउनुपर्ने भन्दै मान्छेहरू हिँडेको कुरा समाचारमा आएको उल्लेख गरे । उनले यसरी हेडलाइनमा आएका व्यक्तिलाई पनि संसदीय छानबिन गर्ने हो भने आफूबाट संसदीय छानबिन सुरु गर्न आग्रह गरे ।

लामिछानेको अभिव्यक्ति सार्वजनिक भएपछि कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन नै गरेर लामिछानेको प्रतिवाद गरे । थापाले आफूबारे उठाएका विषयमा छानबिन गर्न पनि चुनौती दिए । थापाले भने, ‘हेर्नुस् त आज मलाई उहाँले के–के भन्नुभयो । म फेरि उहाँलाई अनुरोध गर्छु, लौ न तपाईंले एउटा छानबिन समिति बनाइदिनुस् । लौ न बनाइदिनुस् ।’

सर्वदलीय वा रास्वपाका मानिसहरू मात्रै राखेर भए पनि छानबिन समिति बनाउन उनले गृहमन्त्रीलाई आग्रह गरे । ‘गगन थापामाथि छानबिन गर्न रास्वपा पार्टीकै मात्र छानबिन समिति बनाइदिए पनि हुन्छ, लौ न बनाइदिनुस्,’ थापाले भने ।

यस्तै एमालेले सहकारी काण्ड नउठाउने र रास्वपाले गिरिबन्धु काण्ड नउठाउने समझदारी बनेको थापाले बताए । ‘लामिछानेले मेरो बारेमा बनाएको समितिमा म बस्न पर्दैन भन्नुभयो, तपाईँ बस्नै पर्दैन, तपाईंको काम नेकपा एमालेले गरिदिन्छ,’ उनले भने, ‘तपाईँहरूको बिचमा राम्रो एउटा समझदारी बनेको छ । त्यसको बारेमा धेरै चिन्ताको विषय भएन ।’ कांग्रेसप्रति आक्रामक अभिव्यक्ति दिएका गृहमन्त्री लामिछानेले एमाले जोडिएको कुनै पनि विषयको उठान गरेका थिएनन् ।

यता, लामिछानेले बोलेलगत्तै प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आइतबारको सबै कार्यसूची हटाएको जानकारी दिए । प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए । प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो ।

तपाइँको प्रतिक्रिया