शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २२:५० |सिड्नीको समय: २०:५० |काठमाडौंको समय: १६:३५

‘वैधानिकीकरण श्रम स्वीकृति’मा के छ नयाँ व्यवस्था ?

एएनजेड खबरमे १६, २०२४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रकृतिका भिसामा विदेश गएर कार्यरत श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने व्यवस्था गरेको छ ।

श्रम मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०८१ संशोधन गर्दै अन्य प्रकृतिका भिसामा विदेश गएर सोही मुलुकमा रोजगारीका लागि भिसा पाएका श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।

श्रम मन्त्रालयले कार्यविधिमार्फत वैधानिकीकरण श्रम स्वीकृति प्रक्रियालाई सहज बनाएको छ । यस्तो खालको श्रम स्वीकृति माग गर्दा श्रमिकले स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमको प्रमाण पेस गर्नु नपर्ने व्यवस्था संशोधित कार्यविधिमा गरिएको छ । मन्त्रालयका अनुसार श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेस गरेमा श्रम स्वीकृति प्रदान गर्न अख्तियारी पाएका मन्त्रालय अन्तर्गतका कार्यालय वा निकायबाट वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिने छ ।

सन् २०२४ को मे ३१ सम्म रोजगारीका लागि भिसा प्राप्त गरी सम्बन्धित मुलुकस्थित नेपाली कूटनीतिक नियोगमा आवेदन गरेका श्रमिकलाई सम्बन्धित नियोगले वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्न सक्ने व्यवस्था कार्यविधिमा छ ।

अफगानिस्तानमा जाने श्रमिकको हकमा भने सरकारको मन्त्रीपरिषद्को २०७३ असोज २० को निर्णयबमोजिम हुने छ । साथै सप्लायर कम्पनीको सिफारिसपत्र कार्यालय वा विभागको इमेलमा आउनुपर्ने छ । सरकारले वैदेशिक रोजगारमा जान खुला नगरेको मुलक र पेसाको हकमा यो व्यवस्था लागु नहुने स्पष्ट पारेको छ ।

वैधानिकीकरण श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिनुपूर्व अनलाइन प्रणालीमा सम्बन्धित व्यक्तिको फोटो खिचिने वा औँठा छापमध्ये कुनै एक वा दुवै लिइने छ । श्रम स्वीकृति प्रदान गरिने जुन निकाय वा कार्यालयमा कामदारको फोटो खिचिएको र जैविक विवरण लिइएको हो सोही निकाय वा कार्यालयमा मात्र छनोट गरी आवेदन दिनुपर्ने व्यवस्था संशोधित कार्यविधिमा उल्लेख छ ।

यसअघि ‘अन्य प्रकृतिका भिसामा गई वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको श्रम स्वीकृति’ शीर्षकमा यस्तो खालको श्रम स्वीकृति प्रदान गरिन्थ्यो । तर, यस्तो खालको श्रम स्वीकृति लिनका लागि श्रमिक नेपाल नै आएको हुनुपर्ने व्यवस्था थियो । साथै श्रमिकले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो ।

तपाइँको प्रतिक्रिया