शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ००:३७ |सिड्नीको समय: २२:३७ |काठमाडौंको समय: १८:२२

भाटभटेनीका मालिक मीनबहादुरको उदार मन: बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा

एएनजेड खबरमे १०, २०२४

काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले व्यवसायिक संजाल लोभलाग्दो छ । व्यवसायिक सफलतासँगै उनको फराकिलो मनको खुलेर प्रशंसा हुने गरेको छ । गुरुङले डा.भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेर अर्को पुन्यकर्म गरेका छन् ।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।

शुक्रबार अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेका थिए । डा. कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामका बारेमा गुरुङलाई फेहरिस्त बताए ।

कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् । कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ । अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन् । २०६८ सालमा बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाइदिएका छन् ।

उक्त भवन ११ करोड रुपैयाँमा निर्माण गरिएको थियो भने भूकम्पपछि सोही स्थानमा उनले अर्को भवन पनि निर्माण गरिदिए । पछिल्लो ईएचएस भवन १५ करोड लागतमा निर्माण गरिदिएका हुन् ।

गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका हुन् । उनीहरुको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया