शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १५:०० |सिड्नीको समय: १३:०० |काठमाडौंको समय: ०८:४५

एक घन्टाभित्र श्रम स्वीकृति दिन मन्त्रीको निर्देशन : तर सफ्टवेयर काम गर्दैन

एएनजेड खबरमार्च २२, २०२४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी) ले शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने तयारी गरेको बताएपनि त्यसको तयारी नभएको पाइएको छ ।

श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण्टामा श्रम स्वीकृति दिन नसक्ने जनाएका छन् ।

विभागका अनुसार पछिल्लो समयमा औसतमा एक हजार पाँच सय जनाले श्रम स्वीकृति लिने गरेकोमा दैनिक आठ सयभन्दा बढीले वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट लिने गरेका छन् । हाल वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) नामक सफ्टवेयरमार्फत श्रम स्वीकृति लिने व्यवस्था हुँदै आएको छ ।

वैदेशिक रोजगार कार्यालय काठमाडौँका अनुसार श्रमका लागि टोकन लिएकालाई तुरुन्तै दिने चाहना हुँदा पनि सर्भरमा बेला बेलामा आइरहने समस्याका कारण तीन दिनसम्म लाग्ने गरेको छ ।

सो कार्यालयका निर्देशक एवं सूचना अधिकारी कल्पना मास्केले बेला बेलामा ‘सर्भर डाउन’ हुने समस्याका कारण पछिल्लो समयमा २४ घण्टाभित्र श्रम स्वीकृति दिन सक्ने अवस्था नरहेको बताइन् । उनले भनिन् ‘कर्मचारी त एक घण्टाभित्रै श्रम दिने गरी तयारी अवस्थामा छौँ तर सर्भरले काम गर्दैन, कर्मचारीले के गर्नु ? स्टिमले काम गर्दैन त ।’

श्रममन्त्री अर्यालले पाँच दिन पहिलो (आइतबार) वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदाता बोलाएर शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका थिए ।

तपाइँको प्रतिक्रिया