शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:४४ |सिड्नीको समय: १५:४४ |काठमाडौंको समय: ११:२९

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा देश विदेशमा कार्यक्रम गरिंदै

एएनजेड खबरमार्च २०, २०२४

काठमाडौं । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस बुधबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

स्मृति दिवसमा कांग्रेसको केन्द्रीय कार्यालयले कुनै कार्यक्रमको आयोजना नगरेको भए पनि ७७ ओटै जिल्लाका कांग्रेस कार्यालयलाई भव्यपूर्वक गिरिजाबाबुको स्मृति दिवस मनाउने निर्देशन दिइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले केन्द्रले नै सबै ७७ ओटै जिल्लालाई कार्यक्रमको आयोजना गर्न निर्देशन दिएको बताए । कोइराला सहमति, सहकार्य र एकताका लागि जहिल्यै तयार भइरहन्थे । यसबाटै मुलुकको अस्थिरता अन्त्य गरी समृद्ध बनाउने योजना उनमा थियो ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए ।

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।

कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । आन्दोलन सफल भएपछि उनी चौँथोपटक प्रधानमन्त्री बनेका थिए। पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरेको थियो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बिपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत नेकपा माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो ।

चार पटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यबाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए। राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यबाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको थियो । बोलेको कुरा पुर्‍याउने राजनेताका रुपमा स्थापित कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।

तपाइँको प्रतिक्रिया