सोमबार, मंसिर १०, २०८१ |Mon Nov, 2024
अक्ल्याण्डको समय: ००:३५ |सिड्नीको समय: २२:३५ |काठमाडौंको समय: १७:२०

देश विदेशमा शिवरात्री पर्व मनाइँदै, अष्ट्रेलियाको मेलवर्नमा विशेष पूजा-पाठ

एएनजेड खबरमार्च ८, २०२४

काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशी शुक्रबार हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्री पर्व मनाउँदैछन् । शुक्रबार आज देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरु घुइँचो लाग्ने गर्दछ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, भक्तपुरको डोलेश्वर महादेवलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ ।

पशुपतिनाथको दर्शन गर्न देशभित्रका श्रद्धालु भक्तजनकासाथै भारतबाट पनि दर्शनार्थीहरु काठमाडौंमा आएका छन् । भारतबाट आएका जोगी, नागा बाबा तथा साधुसन्तका लागि पशुपति क्षेत्र विकास कोषले खाना र बस्नका लागि व्यवस्था मिलाएको छ भने उनीहरू फर्किने समयमा दक्षिणा दिएर बिदाइ गर्ने गने चलन छ ।

साथै बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको छ । दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन् भने यस क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ सेवन र बिक्री निषेध गरिएको छ ।

त्यस्तै विदेशमा रहेका नेपालीहरुले पनि शिवरात्रीलाई विशेष रुपमा मनाइरहेका छन् । अष्ट्रेलियाको मेलबर्नमा रहेको नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)मा विषेश पुजा–पाठ भइरहेको छ । नेपाली कम्युनिटी सेन्टरका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म विषेश शिवपुजाको आयोजना गरिदैछ ।

त्यस्तै १२ बजेदेखि ५ बजेसम्म शिव झाकी, भजन कृतन, तथा शिव प्रवचन, दिउँसो ३ बजे टिका ग्रहण, टिका ग्रहण पछि ३ बजेदेखि ६ बजेसम्म प्रसाद वितरण कार्यक्रम तय गरिएको सूचनामा उल्लेख छ ।

त्यस्तै ६ बजेदेखि ७ बजेसम्म औपचारिक कार्यक्रम, साढे सात बजे पशुपति महाआरती र रातीको साढे ९ बजेसम्म भजन कृतनका कार्यक्रम राखिएको छ ।

तपाइँको प्रतिक्रिया