शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २१:३४ |सिड्नीको समय: १९:३४ |काठमाडौंको समय: १५:१९

धरानमा विमानस्थल बनाउन नमिल्ने भएपछि हर्क साङपाङको धम्की : ज्यादा नखोक !

एएनजेड खबरफ्रेब्रवरी २८, २०२४

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा अहिलेको अवस्थामा विमानस्थल बनाउन नसक्ने निष्कर्ष निकालेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशनअनुसार गठित अध्ययन समितिको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

समितिले अहिले सञ्चालनमा रहेको विमानस्थलसँगको भौतिक दूरीकै कारण यो सम्भव नरहेको निष्कर्ष निकालेको हो । निष्कर्षसँगै उक्त विमानस्थल सम्बन्धी परियोजना अगाडि बढाउने बाटो बन्द भएको छ । सूचना अधिकारी भूल अहिलेको अवस्थामा यो निष्कर्ष नै अन्तिम भएको बताए ।

प्राधिकरणको उक्त निष्कर्षपछि धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले धरानमा विमानस्थल बनाएरै छाड्ने घोषणा गरेका छन् । प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नहुने बताएपछि उनले नियम संशोधन गरेर भएपनि विमानस्थल बनाइछाड्ने बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा मेयर राईले लेखेका छन्, ‘तेरो नियम संशोधन गरेर भएपनि विमानस्थल बनाउने छौं । ज्यादा नखोक ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु ।’

साम्पाङ धरानमा विमानस्थल बन्ने भन्दै जनतालाई ढुक्क हुन आह्वान गरिरहेका छन् । पर्यटन मन्त्री किरातीले उनीप्रति देखाएको उदारताका कारण साम्पाङ बढी आशावादी देखिन्छन् ।

त्यसबाहेक धरान तथा आसपासका क्षेत्रमा रहेका किराती समुदायमा रहेको लोकप्रियताको आडमा सरकारलाई थर्काएरै भए पनि नीति परिवर्तन गराइ छाड्ने उनको योजना देखिन्छ ।

यद्यपि नीतिमा परिवर्तन गर्दा देशभरबाट विमानस्थल बनाउन आउने दबाबका कारण राज्यलाई ठूलो भार पर्ने अवस्था देखिन्छ । धरानलाई केन्द्रित गरेर नीतिमै दूरी घटाउने हो भने पनि देशभर पचासौँ विमानस्थलको माग आउन सक्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

तपाइँको प्रतिक्रिया