एनआरएन हब खड्का र गणेश लामाबिच लफडा : ‘खड्काको पैसा नतिर्ने नियत हो’
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले गैरआवासीय नेपाली (एनआरएन) हब खड्का भनेर चिनिने ज्ञानेन्द्र खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।
बुधबार साँझ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथिको आरोप राजनीतिक चरित्र हत्या गर्नका लागि कसैको उक्साहटमा परेर लगाइएको हुनसक्ने आशंका व्यक्त गरे ।
गैरआवासीय नेपाली खड्काले आफूलाई लामा र सहदेव कक्षपतिलगायतले अपहरण गरेर फिरौतीवापत करोडौंको कागज गराएको आरोप लगाएका थिए । खड्काको उक्त आरोपको खण्डण गर्दै लामाले उक्त कागज जग्गा कारोबारसँग सम्बन्धित रहेको बताए ।
ज्ञानेन्द्रले ‘यो जग्गा मलाई पास गरिदिनुुस्, ३ महिनापछि पैसा दिन्छु’ भनेपछि आफूले २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएको लामाले बताए । जग्गा पास गरेको ९/१० वर्षसम्म पनि ज्ञानेन्द्र त्यसपछि सम्पर्कविहीन बनेर बसेको उनको भनाइ छ । डेढ/दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिएको नेता लामाको दाबी छ । उक्त जग्गा अहिले पनि ज्ञानेन्द्रकी श्रीमतीको नाममा रहेको उनले बताए ।
‘उहाँ मसँग झण्डै ९/१० वर्षदेखि सम्पर्कविहीन भएर बस्नुभयो । कहिले विदेश छु, कहिले कहाँ छु भनेर प्रतिक्रिया दिइराख्ने र उहाँ कहिले पनि सम्पर्कमा आउनुभएन । आजभन्दा डेढ दुई महिना अगाडि उहाँको र मेरो एक ठाउँमा जम्काभेट भयो ।’
उनले भने,‘उहाँलाई त्यहाँ भेट्दाखेरी उहाँ आफैंले दाई तपाईँको पैसा दिन्छु भनेर छिनोफानो गर्नुभएको हो । अहिले पनि आनाको ५० लाख जाने ४० आना जग्गा उहाँको श्रीमतीको नाममा पास छ । त्यही जग्गाको बारेमा उहाँसँग कागज गरिएको हो । कानुनबमोजिम वडामा उहाँ आफैं गएर कागज गर्नुभएको छ ।’
उक्त विषयमा अहिले छानविन भइरहेको बताउँदै नेता लामाले दोषी ठहरिए आफू कानूनबमोजिमको सजाय भोग्न तयार रहेको बताए । ज्ञानेन्द्र र आफूले विगतमा साझेदारी व्यवसायसमेत गरेको उनले खुलासा गरे । आफ्नी श्रीमती र ज्ञानेन्द्रकी श्रीमतीको नाममा दर्ता कायम रहेको ट्राभल कम्पनी अहिले पनि रहेको उनको दाबी छ ।
ज्ञानेन्द्रले प्रहरीमा गएर उजुरी दिएको अवस्थामा मिडियामा आएर प्रचारबाजी गरेको भन्दै उनले आपत्ति जनाए । कारोबारको कुरालाई लिएर आफ्नो चरित्रहत्या गरिएको उनको भनाइ छ । ०७१ सालमा आनाका २५ लाखका दरले धुलिखेल चोकको जग्गा आफूले पास गरिदिएको उनले बताए । पैसा नतिर्ने नियतले आफूमाथि अपहरणको आरोप लगाइएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।
ज्ञानेन्द्रले पाट्नरसिपमा काम गरिरहेको अवस्थामा ‘बैंकको कारोबार मिलाएर लोन लिन्छु र तपाईँलाई पैसा दिन्छु’ भनेपछि तत्कालीन समयमा जग्गा पास गरिएको नेता लामाले बताए ।
जग्गा पास गरेको केही समयबाट ज्ञानेन्द्र सम्पर्कविहीन भएपछि अपराध अनुसन्धान महाशाखामा आफूले निवेदनसमेत दिएको उनको भनाइ छ । नेता लामाले ज्ञानेन्द्र आफैंले क्रिप्टो र विट्क्वाईन कारोबार गर्छु भनेर स्वीकार गरेको बताए । आफू उनीसँग त्यस प्रकारको कुनै कारोबारमा संलग्न नरहेको बताए ।
तपाइँको प्रतिक्रिया