शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २२:४२ |सिड्नीको समय: २०:४२ |काठमाडौंको समय: १६:२७

पासपोर्टबाट नेपाललाई १० अर्ब आम्दानी

एएनजेड खबरफ्रेब्रवरी २०, २०२४

काठमाडौं । नेपाल सरकारले वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी रकम पासपोर्टमार्फत आर्जन गर्ने गरेको तथ्यांकले देखाएका छ । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९र८० मा १४ लाख ६३ हजार ४४४ वटा पासपोर्ट जारी भएको छ ।

यसबाट सरकारले १० अर्ब ३४ करोड २४ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तो राजस्व गत आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब १२ करोड ७१ लाख रुपैयाँ थियो । यसका लागि उक्त वर्ष ८ लाख ३३ हजार मात्रै पासपोर्ट जारी भएको थियो ।

सरकारले विदेश जान चाहने र छिटो पासपोर्ट आवश्यक परेकाहरुका लागि त्रिपुरेश्वरको राहदानी विभागबाट सेवा दिन्छ । विभागले द्रुत गतिको सेवा नियमित प्रक्रियाबाट हुनेभन्दा ७ हजार रुपैयाँ बढी लिन्छ । सम्बन्धित जिल्ला प्रशासनबाट आवेदन दिने नागरिकलाई ५ हजार रुपैयाँमा नयाँ पासापोर्ट दिने तथा नवीकरण गर्ने गरेको छ ।

पासपोर्ट हराएमा, च्यातिएमा, पानीले भिजेर काम नलाग्ने भएमा, क्षति भएको अवस्थामा भने पासपोर्टको अवधि बाँकी रहे पनि थप ५ हजार रुपैयाँ शुल्क तिरेर बनाउन सकिने सुविधा दिएको राहदानी विभागले जनाएको छ । विभागका अनुसार सरकारले सबै जिल्ला प्रशासन कार्यालय, देशभित्रका विभिन्न १७ वटा इलाका, राजधानी विभाग र नेपाल बाहिरका ३८ वटा नियोगबाट राहदानी दिने गरेको छ ।

सरकारले विदेश जानेहरुका लागि छिटो र छरितो सेवाभन्दै द्रुत गतिमा (२४ घण्टाभित्रै) पासपोर्ट बनाइदिन्छ । राष्ट्रिय परिचयपत्र तत्कालै उपलब्ध गराउँछ । १५ लाख नेपालीलाई समयमै लाइसेन्स नदिएर चिर्कटोका भरमा सवारी साधान चलाउन बाध्य पारिएको छ तर, विदेश जाने भनेपछि २४ घण्टाभित्रै लाइसेन्स पाइन्छ ।

विदेश जाने नागरिकले पासपोर्ट बनाउँदा वा नवीकरण गर्दा सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । नेपालबाट गत वर्ष २०७९।८० मा मात्रै ७ लाख ७१ हजार युवाशक्ति वैदेशिक रोजगारीमा गएका छन् । रोजगारीमा गएका नेपालीको यस्तो संख्या चालु आर्थिक वर्षको ७ महिनामा नै ४ लाख पुगिसकेको छ ।

त्यस्तै, यता वैदेशिक अध्ययनका लागि गत आर्थिक वर्ष २०७९।८० मा मात्रै १ लाख १० हजार युवापुस्ता नेपालबाट बाहिरिएका छन् । गत वर्ष नेपालबाट बाहिरिएका विद्यार्थीले मात्रै १ खर्ब १४ अर्ब ८२ करोड रुपैयाँ अध्ययनका लागि लगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपालबाट बाहिरिएका विद्यार्थीको संख्या आर्थिक वर्ष २०७८।८९ मा १ लाख २ हजार थियो भने ती विद्यार्थीले गरेको खर्च ८९ अर्ब रुपैयाँ रहेको केन्द्रीय बैंकको तथ्यांक छ । पाँच वर्ष अगाडि नेपालबाट ६३ हजार विद्यार्थी वार्षिक रुपमा नेपालबाट बाहिरिने गरेका थिए । त्यतिबेला ५३ अर्ब रुपैयाँमात्रै बाहिरिएको थियो ।

तपाइँको प्रतिक्रिया