शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:५१ |सिड्नीको समय: ००:५१ |काठमाडौंको समय: २०:३६

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारको काठमाडौंमा रुवाबासी

एएनजेड खबरफ्रेब्रवरी २, २०२४

काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उनीहरुको तत्काल उद्धार गरिदिनका लागि सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सरकारलाई दबाब बढाएका हुन् ।

उपस्थित दर्जन बढी पीडित परिवारका सदस्यहरुले सेनामा भर्ना भएका आफ्ना आफन्तलाई नेपाल ल्याइदिन सरकारसँग माग गरेका हुन् ।

उदयपुरबाट दुधे बालक बोकेर काठमाडौं आएकी टिना घिमिरेले पति पदम घिमिरे दुई महिनादेखि सम्पर्कविहीन भएको उल्लेख गर्दै उद्दारका लागि पहल गरिदिन आग्रह गरिन् । उनका अनुसार रुसी सेनामा गएका श्रीमान पदमले दुई पटक भाग्ने प्रयास गरेपनि दुवै पटक असफल भएको, पदमलाई रुसी सेनाले फर्काएर लगेपछि दुई महिनादेखि सम्पर्कमा आएका छैनन् ।

‘दुई महिना भैसक्यो उहाँ सम्पर्कमै हुनुहुन्न । उहाँ दुईचोटी भागेको बताउनुहुन्थ्यो । पहिलो पटक भागेको पाँच दिनमा समातेर फिर्ता ल्यायो भनेर क्याम्पबाट मलाई फोन गर्नुभएको थियो । अर्कोचोटी पनि भाग्नुभएको थियो । दुई दिनमै उहाँ समातिनु भयो ।’

त्यसपछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको सम्झँदै उनले भावुक हुँदै थपिन,‘त्यसपछि राति म ‘वाक’ जान लागेको छु । आएपछि फोन गर्छु भनेर जानुभएको त्यसपछि फोन गर्नुभएको छैन ।’ अवरुद्ध गला र झरेका आँशुले टिनाको पीडा प्रष्ट देखिन्थ्यो ।

यस्तै, खोटाङकी शिला राईले पनि रुसी सेनामा भर्ना भएका आफ्नो दाई रवीनकुमार राई घाइते अवस्थामा रहेको जानकारी दिँदै उद्धार गरिदिन आग्रह गरिन् । शिलाको अनुसार उनको दाई रवीनकुमार २१ दिनदेखि रुसको अस्पतालमा उपचाररत छन् ।
शिलाले भनिन्, ‘दाई हामीसँग सम्पर्कमै हुनुहुन्छ । तर,उहाँ हस्पिटलमा हुनुहुन्छ । अडियो कल बाहेक भिडियोमा हेर्न पाएका छैनौ । उहाँ नेपाल आउन चाहनुहुन्छ । मेरो दाइलाई मात्र होइन जतिपनि रसियन आर्मीमा आवद्ध हुनुहुन्छ उहाँहरुलाई सरकारले चाँडोभन्दा चाँडो नेपाल पर्काइदिन अनुरोध गर्छु ।’

यता सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको सुनाए । सात लाख रुपैयाँ खर्च गरेर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका रामकुमार प्रधानसँग अन्तिम पटक असोज २५ गते कुराकानी भएको खड्गीले बताए । त्यसयता उनका सालो सम्पर्कविहीन छन् ।

आफ्नो सालोसँग बन्करमा बसेका केही नेपाली घाइते भएको उल्लेख गर्दै उनले थपे, ‘एउटै बंकरमा बसेको उसका साथीहरुलाई बमको छर्रा लागेर घाइते भएकोले उपचार गराइरहेका छन् । मेरो सालो कहाँ गयो भाग्यो कि युक्रेनले समात्यो थाहा छैन ।’

रुसी सेनामा भर्ती भएका तर भागेर खोटाङका दुई महिना अघि नेपाल आउन सफल सुमन राईले त्यहाँ करिब १४र१५ हजारको आँकडामा नेपाली भर्ती भएको हुनसक्ने बताएका छन् । आफैंले चारसय बढीको ज्यान गुमाएको देखेको उनको भनाइ छ ।

रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको पत्रकार सम्मेलनमा उनले सुकेधाराको मेनपावरबाट भिजिट भिसामा रुस पुगेकै भोलिपल्ट भर्ना भएको जानकारी दिएका थिए । आफूले एक महिना १८ दिन त्यहाँ काम गरेको उनको भनाई छ । ‘मेरै अगाडि ६ जना मरेको देखेर आएँ । त्यो भन्दा धेरै मरिसकेका छन्’, उनले भने ।

उनले ऋण काढेर रुस जाँदा आठ लाख र भागेर आउँदा तीन लाख रुपैंयाँ तिरेको बताए । उनका अनुसार सेनामा भर्ती भैसकेपछि युद्धमा कोही मरे भने उनीहरुलाई त्यसै छाडिन्छ ।

सुमनले भने, ‘नेपाली मरे छाडेर रुसीहरू गाडी लिएर जान्छन् । मंगोलियन, भारतीय र चिनियाँ पनि त्यहाँ छन् ।’

असोज १५ मा रुस पुगेका राई तिहारको अघिल्लो दिन रातो पासपोर्टका लागि ज्यान दिन्न भनेर नेपाल फर्किएको सुनाएका थिए । उनको लटमा भर्ना हुनेहरू आठ सय जना रहेको उनले सुनाए ।

तपाइँको प्रतिक्रिया