आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०८:२८ |सिड्नीको समय: ०६:२८ |काठमाडौंको समय: ०२:१३

मलेसियामा ४ हजार २६ जना गैरकानुनी आप्रवासी पक्राउ

एएनजेड खबरजनवरी २२, २०२४

काठमाडौं । मलेसियाको अध्यागमन विभागले यस वर्षको पहिलो १८ दिनमा देशभर ८ सय ७० अपरेसन गर्दा ४ हजार २६ जना गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको छ ।

अध्यागमन महानिर्देशक रुस्लिन जुसोहका अनुसार सोही अवधिमा विभागले ९ हजार १ सय ६९ विदेशीको निरीक्षण गरेको र १ हजार ४ सय ९७ गैरकानुनी आप्रवासीलाई आ–आफ्नो मुलुकमा फिर्ता गरेको बताए । विभागले अवैध आप्रवासीलाई रोजगारी दिने ४२ रोजगारदातालाई पनि पक्राउ गरेको महानिर्देशक जुसोहले जानकारी दिए ।

यस वर्ष मलेसियाले १ लाख गैरकानुनी कामदार पक्राउ गर्ने लक्ष्य राखेको जनाएको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब ३ महिनासम्म कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिनेछ ।

विभागले त्यहाँको बैदुरी अपार्टमेन्टमा छापा मारेर गैरकानुनी आप्रवासीहरूलाई पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा महानिर्देशक जुसोहले भने, ‘अवैध आप्रवासीलाई काममा लगाइएका रोजगारदातालाई व्यक्ति बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २००७ लगायत अध्यागमन ऐनअन्तर्गत कारबाही गर्न सकिनेछ ।’

तपाइँको प्रतिक्रिया