आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०९:३५ |सिड्नीको समय: ०७:३५ |काठमाडौंको समय: ०३:२०

युगाण्डाका नेपालीहरुसँग प्रधानमन्त्रीले भने: तपाइँहरुको समस्या बुझेको छु

एएनजेड खबरजनवरी १९, २०२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसाको विषयमा महत्त्वपूर्ण निर्णय गरिएको बताएका छन् ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीवार साँझ युगान्डाको कम्पाला आएका प्रधानमन्त्री दाहालले युगान्डामा रहेका नेपालीहरूसँग भेटघाट गरेका छन्।

भेटघाटमा प्रधानमन्त्री दाहालले आफ्नो युगान्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए।

प्रधानमन्त्रीले भने, ‘युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदुतहरू बोलाएर कुरा गरिएको छ।’

‘विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन। विदेशमा रहेका नेपालीहरूका दुःखकष्ट बुझ्ने अवसर पनि पाएँ’ प्रधानमन्त्रीले भने।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगान्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदुतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपिल गरे।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ युगान्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताइन्।

कार्यक्रममा गैरआवासीय सङ्घका युगान्डाका संरक्षक रमेश कँडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगाण्डामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराएका थिए।

एनआरएनए युगान्डाका तर्फबाट अफ्रिकामा नेपालीहरुको स्थिती र बेहर्नु परेको समस्या जानकारी गराइएको थियो । मानव तस्करहरुले ट्रान्जिट र राम्रो कामको प्रलोभनमा यहाँ ल्याई अलपत्र पारिदिने, अबैध रुपमा नेपाली महिलालाई यहाँका डान्सबारमा ल्याउने, श्रम स्वीकृती, पासपोर्ट नविकरण, नेपाल एयरर्पोर्टमा अध्यागमनले दिने दुःख, बैंकिङ्ग कारोबार लगायतका समस्या समधानका लागि अनुरोध गरेका थिए ।

कार्यक्रममा युगाण्डाका लागि नेपालका अवैतनिक वाणिज्य दूत डा. सुधीर रुपारेलियाले युगाण्डामा प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायत उच्च अधिकारीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।

उनले नेपाल र अफ्रिकाले लगानी र समृद्धिका लागि साझेदारी बढाउन प्रयत्न गर्नुपर्ने आवाश्यकता रहेको समेत बताए । कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्साल लगायत नेपाल सरकारका उच्च अधिकृतहरुको समेत उपस्थिति थियो ।

एनआरएनए युगान्डाका अध्यक्ष रमा अर्यालको सभापतित्वमा संचालित कार्यक्रममा पूर्व अध्यक्षहरु रमेश कंडेल, बिनोद थापा, प्रेम श्रेष्ठ लगायतले विशिष्ट अतिथीहरुलाई स्वागत गरेका थिए ।

तपाइँको प्रतिक्रिया