आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:१६ |सिड्नीको समय: ०९:१६ |काठमाडौंको समय: ०५:०१

नेपालमा अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी

एएनजेड खबरजनवरी १३, २०२४

काठमाडौं । मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्।

सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो। कूल यात्रु आवागमन (आन्तरिक र अन्तर्राष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए। विमानस्थलबाट एक वर्षको अवधिमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन्।

जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो। यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। उनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।

महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कूल यात्रु आगमन पनि बढेको जानकारी दिए । कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा नौ दशमलव दुई प्रतिशतले वृद्धि भएको उनको भनाइ छ।

तपाइँको प्रतिक्रिया