आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:०९ |सिड्नीको समय: ०९:०९ |काठमाडौंको समय: ०४:५४

नेपाली चिकित्सकहरुको रोजाइ बेलायत र अमेरिका

एएनजेड खबरजनवरी १३, २०२४

काठमाडौं । स्वास्थ्य क्षेत्रका जनशक्ति उच्च शिक्षा अध्ययन, फेलोसिप वा कामकै लागि विदेश जानेक्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिने चिकित्सकको संख्या अघिल्लो वर्षभन्दा सन् २०२३ मा झन्डै चारसय बढी छ ।

प्रमाणपत्र लिने चिकित्सकमा एमडीभन्दा एमबीबीएस गर्नेको संख्या ठूलो भएको काउन्सिलको तथ्यांकले देखाउँछ । काउन्सिलबाट २०२३ मा २ हजार ३१८ जनाले विभिन्न देशमा जान प्रमाणपत्र लिएका छन् । नेपाली चिकित्सकले विदेशमा अध्ययन वा काम गर्नका लागि यस्तो प्रमाणपत्र लिने गरेका छन् ।

प्रमाणपत्र लिनेमध्येमा सबैभन्दा बढी बेलायत जानेहरू छन् । सन् २०२० मा बेलायत जान १६२, २०२१ मा ३१९, २०२२ मा ५९२ र २०२३ मा ५०५ जनाले प्रमाणपत्र लिएको काउन्सिलको तथ्यांकले देखाउँछ ।

अमेरिका जाने चिकित्सकको संख्या पनि ठूलो छ । २०२० मा २७६, २०२१ मा २७३, २०२२ मा ४९६ र २०२३ मा ८४३ जनाले अमेरिका जानकै लागि प्रमाणपत्र लिएका छन् । यस्तै, माल्दिभ्स जान २०२० मा २१६, २०२१ मा ४०३, २०२२ मा ४५३ र २०२३ मा ३९५ जनाले प्रमाणपत्र लिएका छन् ।

यससँगै अस्ट्रेलिया, यूएई, क्यानडा र कतार जाने चिकित्सकको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाउँछ । काउन्सिलका अनुसार २०२० मा १ हजार ६६८ जनाले एमबीबीएसको लाइसेन्स परीक्षा पास गरेका थिए । नेपालीहरुको रोजाइमा वेलायत र अमेरिका पहिलो प्राथमिकतामा छ ।

बेलायतपछि सबैभन्दा धेरै नेपाली चिकित्सक अमेरिका जाने गरेका छन् । अमेरिका जाने अन्तर्राष्ट्रिय चिकित्सकबारे तथ्यांक राख्ने संस्था इन्टेल्थका अनुसार २०२२ मा नेपालबाट ३८० जना चिकित्सक अध्ययन भिसा लिएर पुगेका थिए । नेपालमा अवसर नपाइने, पारिश्रमिक न्यून हुन र राजनीतिक अस्थिरताका कारण रोजगारीका अवसरहरु गुम्ने गरेकाले चिकित्सकहरुले नेपाल छाड्ने गरेका छन् ।

तपाइँको प्रतिक्रिया