आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:२४ |सिड्नीको समय: ०९:२४ |काठमाडौंको समय: ०५:०९

अष्ट्रेलिया सरकारको निःशुल्क छात्रवृत्ति : के हो, कसले आवेदन दिन पाउँछन् ?

एएनजेड खबरजनवरी १२, २०२४

काठमाडौं । अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा निःशुल्क पढ्नको लागि हरेक वर्ष छात्रवृति दिँदै आएको छ । सन् २०२५ का लागि ‘अस्ट्रेलिया अवार्ड स्कलरसीप’ आउँदो फेब्रुअरी १ देखि आवेदन खुला गर्दैछ । नेपालस्थित अष्ट्रेलियन दूताबासले नेपाली विद्यार्थीहरुलाई आवेदनका लागि तयारी रहन सूचना जारी गरेको छ ।

अस्ट्रेलियाको सरकारले अस्ट्रेलिया अवार्ड स्कलरसीपमार्फत् हरेक वर्ष नेपाली विद्यार्थीहरुलाई लिने गरेको छ । नेपाली विद्यार्थीहरुको आर्थिक र सामाजिक विकाससँग सम्बन्धित विषयमा छात्रवृति दिँदै आएकोमा २०२५ का लागि वर्ष छात्रवृत्तिका लागि आवेदन माग गर्ने तयारी गरेको हो ।

अष्ट्रेलिया अवार्डका लागि आवेदकहरूलाई उनीहरूको व्यावसायिक र व्यक्तिगत गुणहरू, शैक्षिक योग्यता र उनीहरू नेपाल फर्किएपछि राष्ट्रिय विकासमा योगदान पुर्‍याउन सक्छन कि सक्दैनन् भन्ने विषयलाई प्राथमिकता दिने गरिन्छ । विशेषगरी महिला, अपाङ्गता भएका व्यक्तिहरू र सीमान्तकृत समूहहरूलाई अवार्डका लागि प्रोत्साहित गर्ने दूताबासको सूचनामा उल्लेख छ ।

छोटो अवधीका कोर्ष र स्नाकोत्तरका लागि अष्ट्रेलियाले छात्रबृत्ति दिने गरेको छ । काठमाडौं महाराजगंजस्थित अस्ट्रेलिया अवार्डको कार्यालयका अनुसार पछिल्लो ६१ वर्षदेखि अस्ट्रेलियाले दिँदै आएको छात्रवृत्तिमा ११ सय ५० बढी नेपाली विद्यार्थीहरु छात्रवृत्तिबाट लाभान्वित भइसकेका छन् ।

नेपालका लागि अस्ट्रेलिया अवार्ड छात्रवृत्ति विपद् जोखिम न्यूनीकरणको लागि विकास क्षेत्रहरूको अध्ययन कार्यक्रम, आर्थिक विकास, शिक्षा, लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण, शासन, स्वास्थ्य, प्राकृतिक स्रोत व्यवस्थापन र दिगो पूर्वाधार विकासको लागि प्रदान गरिन्छ ।

तर यो अवार्डका लागि केही सर्तहरु लागू गरिएको छ । अस्ट्रेलिया वा न्यूजिल्यान्डको स्थायी बसोबासको तयारी गरिरहेको वा पिआर पाइसकेको व्यक्तिसँग विवाह गर्नेले भने यस छात्रवृत्तिमा आवेदन दिन पाउने छैनन् ।यस्तै, अस्ट्रेलियामा स्थायी बसोबासको तयारी गरिरहेका र सैन्य कर्मचारीले पनि यस छात्रवृत्तिको लागि आवेदन दिन पाउँदैनन् । यो छात्रवृति पाउनका लागि स्नातककोत्तर तह अध्ययनका लागि भनिएको छ ।

छात्रवृत्ति अन्तर्गत विद्यार्थीहरुले अध्ययनको अवधीभर खान बस्न, पढ्नेदेखि अन्य सुविधाहरु पाउँछन् । उनीहरुले शिक्षण शुल्क, फर्किने हवाइ भाडा, जीवनयापन खर्च र चिकित्सा बीमाको सेवा पनि पाउनेछन् ।

अष्ट्रेलिया अवार्डको नेपालीस्थित कार्यलयका अनुसार एकजना विद्यार्थीका लागि उनीहरुले पढ्ने विषय अनुसार लगानी लाग्ने भएपनि औसतमा ६० लाखभन्दा बढी बराबरको सेवा सुविधा पाउनेछन् । अष्ट्रेलियाअवार्ड छात्रवृत्ति पाउनेहरुले अष्ट्रेलिया अवार्ड छात्रवृत्तिका सर्तहरू अनिवार्य पालना गर्नुपर्छ ।

केही साता अघि मात्र अस्ट्रेलिया सरकारले सन् २०२३ का लागि २१ नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा निःशुल्क स्नातकोत्तर पढ्नको लागि छात्रबृत्ति प्रदान गरेको थियो ।

हरेक वर्ष दिँदै आएको ‘अस्ट्रेलिया अवार्ड स्कलरसीप’मार्फत २१ जना नेपाली विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । नेपालस्थित अष्ट्रेलियन राजदूताबासले एक समारोहबीच सार्वजनिक क्षेत्रबाट १५ साथै महिला र शारीरिक रुपमा असक्तलाई छात्रबृत्ति प्रदान गरेको थियो ।

नेपाल सरकारका मुख्य सचिब डा.बैकुन्ठ अर्याल, नेपालस्थित अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कलगायतको उपस्थितिमा छात्रबृत्ति प्रदान गरिएको हो ।

तपाइँको प्रतिक्रिया