शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४७ |सिड्नीको समय: ०७:४७ |काठमाडौंको समय: ०३:३२

प्रवासी र नेपाली समुदायको सेवामा बुद्धि, विवेक र पसिना खर्चंदै बुद्धि सुवेदी

एएनजेड खबरअक्टोबर ८, २०२३

पढाइमा सधैं प्रथम श्रेणी हासिल गरेका बुद्धिसागर सुवेदी गैर आवासीय नेपाली संघ (एनआरएनए) को महासचिव पदका उम्मेदवार हुन् ।नेपालमा शिक्षण पेशासँगै विभिन्न संघसंस्था र समुदायसँग जोडिदै अमेरिका पुगेका सुवेदी हाल व्यवसायसँगै सामाजिक सेवामा व्यस्त छन् ।

उनले एनआरएनए अमेरिकाको विसकनसिन च्याप्टरको संस्थापक अध्यक्ष (२०१७–१९) बाट शुरु गरी एनसीसी अमेरिकाको उपाध्यक्ष २०१९–२१ हुँदै सन् २०२१–२३ मा एनआरएनए अमेरिकाको अध्यक्ष भएर काम गरिसकेका छन् । उनि अहिले अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयलाई चुस्त र प्रभावकारी बनाउन महासचिवमा उम्मेदवार बन्दैछन् ।

अध्ययन, अनुसन्धान र विभिन्न अवसरका लागि करिब ५० लाख भन्दा बढी नेपालीहरू अहिले देश बाहिर रहेको अनुमान गरिन्छ । गैरआवासीय नेपालीहरूमध्ये केहीले विदेशी भूमिमा अध्ययन, अनुसन्धान र आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेका छन् । तीनै मध्येका एक सुवेदी स्याङजाको टग्सार ३ मा जन्मेका हुन् । सुवेदीले स्थानीय डाँडा प्राविबाट आफ्नो पढाइको यात्रा थालेका थिए । २०२६ सालमा जन्मेका सुवेदीले माडी मावि चितवनबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । वन विज्ञान क्याम्पस पोखराबाट आइएस्सी फरेष्ट्री प्रथम श्रेणीमा उत्तीर्ण गरे पछि उनले पिपल्स क्याम्पस पकनाजोलबाट बि.कम. प्रथम श्रेणीमा पुरा गरे । केन्द्रीय क्याम्पस कीर्तिपुरबाट एमबिए प्रथम श्रेणीमा पुरा गरेका उनले एमएड र एलएलबीको अध्ययन पनि सकेका छन् । उनको अध्ययन र अध्यापनमा गहिरो रुचि रहेको छ । शिक्षण पेशा थालेका सुवेदीले कालिकोट जिल्लाको सत्यदेवी मावि जुथियामा प्रधानाध्यापक भएर जिम्मेवारी सम्हालेका थिए । त्यसपछि केन्द्रीय क्याम्पस कीर्तिपुर, नेपाल कमर्स क्याम्पस मीनभवन, पब्लिकयुथ क्याम्पस पकनाजोल र एभरेष्ट क्याम्पस नयाँ बानेश्वरमा उपप्राध्यापक भएर उनले प्राध्यापन गरे।

अमेरिकालाई कर्म थलो बनाएका सफल नेपाली व्यवसायीहरू मध्येमा एक हुन् बुद्धि सागर सुवेदी । उनले सन् २००६ बाट अमेरिकामा आफ्नै व्यवसाय सुरु गरे । सुवेदीका पाँच तारे होटेलदेखि रेस्टुरेन्ट, स्टोरसहित ४० भन्दा बढी व्यवसाय सञ्चालनमा छन् । उनले अमेरिकामा मात्रै करिब २ सय मिलियन डलर (झन्डै २५ अर्ब रुपैयाँ) भन्दा बढीको लगानी गरिसकेका छन् । सुवेदीको अमेरिकामा मात्र सीमित हुने सोचाई छैन । जन्मभूमिको विकास र संमृद्धिका लागि वैदेशिक लगानी भित्राउने र रोजगारीका अवसरहरू सिर्जना गर्ने उनको चाहना छ । सुवेदीले रुपन्देहीमा पाँचतारे टाइगर प्यालेस रिसर्ट खरिद गरेर सञ्चालनमा ल्याउन लागेका छन् । होटल सञ्चालनमा आउनासाथ नेपालमा झन्डै एक हजार जनालाई रोजगारीको अवसर मिल्ने अनुमान गरिएको छ ।
सुवेदी व्यापार व्यवसायमा मात्र होइन सामाजिक र परोपकारी काममा पनि उत्तिकै सक्रिय छन् । सन् २०२१–२३ मा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा निर्वाचित सुवेदीले संस्थालाई अर्को उचाइमा पुराउन सफल भए । एनआरएनए अमेरिकाको स्थापना कालदेखि झोलामा रहेको कार्यालय भवन अफिस कन्डोमिनियम खरिद गरेर आफ्नै कार्यालयबाट सञ्चालन गराउन उनी सफल भए । उनले एनआरएनए अमेरिकालाई संस्थागत र व्यवस्थित बनाउन निकै मेहनत गरे । २ लाख ९२ हजार डलर अर्थात् ३ करोड ७५ लाख नेपाली रुपैयाँमा भवन खरिद गरिएको थियो ।

“आफ्नो व्यक्तिगत आर्थिक सहयोग र मनकारी दाताहरूको सक्रियतामा एनआरएनए अमेरिकाको कार्यालय भवन खरिद गरेका थियौं । संस्थालाई कुनै पनि आर्थिक व्ययभार नछोडी रकम चुक्ता गरिएको छ,” सुवेदीले भने । आफ्नै कार्यालय भवन खरिद गरेर संस्थाको जग बलियो बनाउने प्रयास अरू देशका एनसीसीहरुका लागि पनि रोल मोडल हुनसक्छ ।

मातृभूमिको सेवामा सधैं तत्पर

विश्व समुदाय कोभिडको महामारीसँग जुधिरहेको समयमा नेपालीलाई सहयोग गर्न सुवेदीकै नेतृत्वमा अमेरिकाबाट ३ करोड ६० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरियो । “बाढी, पहिरो, भूकम्प वा महामारीमा अमेरिकी सरकारसँग समन्वय गरेर गैरआवासीय नेपाली संघ अमेरिकाले नेपालमा सहयोग सामग्री निःशुल्क ढुवानी गराउन सक्ने सम्बन्ध विकास भएको छ” उनले भने । नेपाल सरकार र विदेशी निकाय बीचमा रहेर एनआरएनएले प्रभावकारी काम गर्न सक्छ भन्ने ब्यबहारबाटै उनले प्रमाणित गरिसकेका छन् ।
महासचिवको उम्मेदवारीसँगै नेपाल सरकार र अन्य देशका सम्बन्धित निकायसँग विश्वासिलो संस्थागत सम्बन्ध बनाउन सक्ने उनको अठोट छ । उनले विदेशमा बस्ने नेपालीको बृहत्तर हितमा काम गर्ने सोच बनाएका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समुदायसँग मिलेर नेपालको हितमा काम गर्ने भरपर्दो संस्थाको रूपमा स्थापित हुनेमा पनि उनी विश्वस्त छन् ।
नेपालको पहिचान विदेशी भूमिमा झल्काउन र पर्यटन प्रवर्द्धनमा सघाउन अमेरिकाका प्रमुख शहरहरूमा सुवेदी नेतृत्वको कार्यसमितिले काम गरेको थियो । अमेरिकाका प्रमुख सहरका मेयर, उपमेयर र स्थानीय निकायका प्रतिनिधिहरुको उपस्थितिमा त्यस्ता कार्यक्रमहरु गरिएका थिए । विदेशमा हुर्कँदो दोस्रो पुस्ता र विदेशीहरूलाई नेपालप्रति आकर्षित गराइ राख्न नेपाली पहिचान झल्काउँदै पर्यटन प्रवर्धनमा त्यस्ता कार्यक्रमले सघाउने उनको विश्वास छ ।

विदेश जाने नेपालीको संख्या दिनप्रतिदिन बढे सँगै घटना र दुर्घटना पनि बढ्दै छन् । विदेशमा ज्यान गुमाउने नेपालीहरूको शव जन्मभूमि फर्काएर अन्तिम संस्कार गर्न सहयोग गर्न संघ संस्थाहरूमाथि भार थपिँदो छ । दुई वर्षको बीचमा २० भन्दा बढी नेपालीको शव नेपाल पठाउन एनआरएनए अमेरिका, च्याप्टर र स्थानीय संघ मिलेर काम गरेका थिए । त्यसका लागि ४ लाख डलर अर्थात् करिब ५ करोड रुपैयाँको हाराहारीमा सहयोग संकलन गरिएको थियो ।यसका लागि ठोस कार्यनीति बनाएर काम थाल्नु पर्ने सुवेदीको भनाइ छ ।
अमेरिकामा हुर्किरहेका नेपाली बालबालिकाका लागि आफ्नै संस्कार, भाषा र संस्कृति सिकाउन नेपाली कक्षाहरुको शुरुवात गरिएको छ । त्यसका लागि पाठ्यक्रम विकास गर्ने, अमेरिकामा अध्ययनका लागि पुगेका विद्यार्थीहरुलाईसहयोग गर्नमा सुवेदी नेतृत्वको समितिले काम गरेको थियो ।

एनआरएनए आइसीसीको ‘एक एनसीसी एक च्यारिटी’ अन्तर्गत सल्यान जिल्लाको एक दुर्गम गाउँमा सुवेदी नेतृत्वको एनआरएन अमेरिकाले मिनी प्रसूति गृह निर्माण ग-यो । देवघाटको बृद्धाश्रममा मेडिकल उपकरण प्रदान, चितवनमा पुस्तकालय निर्माणको काममा पनि एनआरएनए अमेरिकाले सहयोग ग यो । संस्था र समुदायको हितमा ठूलो सहयोग गर्दै आएका सुवेदीले विकास निर्माणको काम, आपतविपत र परोपकारी काममा दुई वर्षमा करिब २ लाख डलर अर्थात् दुई करोड ५० लाख रुपैयाँ व्यक्तिगत सहयोग गरिसकेका छन् ।
“मैले सिकेको अनुभव र सीप एनआरएनएको संस्थागत विकास, बलियो तथा पारदर्शी सचिवालय बनाउन मैले प्रयोग गर्ने छु। राष्ट्रिय समन्वय परिषदहरुलाई अधिकारसम्पन्न र सशक्त बनाउन नै मैले महासचिव पदमा उम्मेदवारी दिएको हुँ,” सुवेदीले भने। संसारभरि रहनु भएका एनआरएन डेलिगेट्सहरुको साथ, सहयोग र स्नेह पाउनेमा म ढुक्क छु।“

तपाइँको प्रतिक्रिया