सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२० |सिड्नीको समय: ०५:२० |काठमाडौंको समय: ०१:०५

गृहमन्त्रालयले गर्‍यो डिएसपी ठग बहादुरलाई बर्खास्त

एएनजेड खबरजुलाइ २६, २०२३

गृहमन्त्रालयले प्रहरी नायब उपरीक्षक(डिएसपी) ठग बहादुर केसीलाई बर्खास्त गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले केसीलाई हिजो बर्खास्त गरेको हो।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट डिएसपी केसीले गम्भीर रूपमा आचरण उल्लङ्घन गर्दै प्रहरी ऐन विपरीतको कार्यमा संलग्न रहेको देखिएको भन्दै एक महिना अगाडि उनलाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालय समक्ष सिफारिस गरेको थियो। इलाका प्रहरी कार्यालय बुटवलमा काजमा रहँदा डिएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटना बाहिरिएको थियो। 

बुटवल स्थित टेलिकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो। सो सुन फिर्ता गर्न केसीले नगद र चेक घुस लिएका थिए।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो। सोही घटनामा उनी निलम्बनमा परेका थिए। प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न असार दोस्रो सातामा गृह मन्त्रालयमा सिफारिस गरेको थियो। 

प्रहरी हेडक्वार्टरले सिफारिस गरेको झन्डै एक महिनासम्म पनि कुनै निर्णय नगरेको गृहले हिजो केसीलाई बर्खास्त गर्न निर्णय गरेको हो। सुन रित पूर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ तत्कालीन एसएसपी चन्द्र कुवेर खापुङ नेतृत्वको छानबिन समितिको निष्कर्ष निकालेको थियो। 

उक्त समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो। समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागी प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ।

तपाइँको प्रतिक्रिया