सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:१९ |सिड्नीको समय: ०७:१९ |काठमाडौंको समय: ०३:०४

सुराकी दिनेलाई बजेटमा पुरस्कारको व्यवस्था गरेपछि  १०० किलो सुन समातियो :अर्थमन्त्री महत 

एएनजेड खबरजुलाइ २४, २०२३

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएकै कारण विमानस्थलबाट १०० किलो सुन समातिएको दाबी गरेका छन्। 

 आज रुपन्देहीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था यसअघि बिचमा हटाइएको तर आफूले बजेटमार्फत त्यसलाई पुनः निरन्तरता दिएको बताए।

‘भन्सारमा कतिपय कुराहरूलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बिचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो,’ उनले भने।

उनले सुन प्रकरणमा जरैसम्म पुग्ने गरी अनुसन्धान जारी रहेको बताए। भन्सारमा अवैध गतिविधि हुन नदिन आधुनिक मेसिन जडानदेखि त्यहाँ रहेका मेसिन अपडेट र कर्मचारीहरूलाई चुस्त बनाइने काम भइरहेको उनले बताए।

‘कर्मचारीहरूमा उदासीनता भएको भए कारबाही हुन्छ, भइसकेको पनि छ । यसमा पारदर्शी ढङ्गबाट अनुसन्धान भई कारबाही हुन्छ । राज्य संयन्त्र गम्भीर छ,’ उनले भने।

मन्त्री महतले मुलुकमा सुशासन कायम गर्न र अनियमितता, गैर कानुनी कार्य हुन नदिन सरकार कटिबद्ध रहेको बताए।

तपाइँको प्रतिक्रिया