आर्मीका मानबहादुर श्रेष्ठ राष्ट्रिय पुरुष भलिबलको कप्तान नियुक्त
मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल सङ्घको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।
सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।
नेपालले २०१७ मा माल्दिभ्समा सेन्ट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले वेस्ट आउट साइड सेकेन्ड अट्याकरको अवार्ड जितेका थिए । एसियन गेम्समा नेपाली पुरुष भलिबलको कप्तानी श्रेष्ठले गर्ने छन् ।
यसअघिका कप्तान हरिहजुर थापालाई नेपाल भलिबल सङ्घले बर्खास्त गरेको थियो । सातौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल दौरान गण्डकीविरुद्धको खेलमा थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको र कर्तव्य विमुख भएको भन्दै सङ्घले उनलाई कप्तानबाट हटाएको थियो । थापालाई ६ महिनाको लागी निलम्बन गरिएको छ।
अघिल्लो सोमबार गण्डकीविरुद्धको खेलमा तनाव उत्पन्न हुँदा आर्मीका धनबहादुर भट्टले दर्शकलाई नै कुटेका थिए ।
तपाइँको प्रतिक्रिया