आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:२३ |सिड्नीको समय: ०१:२३ |काठमाडौंको समय: २१:०८

शरणार्थी प्रकरण : केपी ओलीका स्वकीय सचिव पनि प्रहरीको शङ्कामा 

एएनजेड खबरमे ११, २०२३

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै झन्डै डेढ अर्बको ठगी धन्दामा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्यको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले शङ्काको घेरामा राखेको छ। 

तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको फर्म्याट गरिएको मोबाइल रिकभर गर्दा ओलीका स्वकीय सचिव बज्राचार्य पनि तानिन सक्ने देखिएको प्रहरी स्रोतले दाबी गरेको छ । सचिव पाण्डेको फर्म्याट गरिएको मोबाइल फरेंसी ल्याबमा समेत पठाइएको थियो। 

ओली प्रधानमन्त्री रहेका बेला स्वकीय सचिव बनेर काम गरेका बज्राचार्यबारे उचित प्रमाणको खोजीमा प्रहरी देखिन्छ। उनै सचिव पाण्डेको फर्म्याट गरिएको मोबाइलको कारण तत्कालीन गृहमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँड हिजो मात्रै प्रहरीको  हिरासतमा पुगे। खाँण गृहमन्त्री हुँदा प्रतिवेदन किर्ते गरेको र उनकी श्रीमती मञ्जुमार्फत करोडौँ रुपैयाँ लिएको आरोप लागेको छ। 

हिरासतमा रहेका सचिव पाण्डेले दिएको बयानले हिजो पक्राउ परेका पूर्व गृहमन्त्री खाँण, उनकी श्रीमती मञ्जु र काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासमेत मुछिएको स्रोतले जनाएको छ ।

ओली प्रधानमन्त्री भएका बेला गृहमन्त्रालय रामबहादुर थापा “बादलले सम्हालेका थिए। उनै बादलका सुरक्षा सल्लाहकार  इन्द्रजित राईसमेत यस अघि नै समातिएका छन् । राईको अनुसन्धानले शरणार्थी प्रकरण तत्कालीन गृहमन्त्री बादलसम्म पनि पुग्न सक्ने देखिएको हो। बादलका छोरा प्रतिक भने फरार छन् , उनीमाथि प्रहरीले पक्राउ पुर्जी काटिसकेको छ। 

यता एमालेका सचिव टोपबहादुर रायमाझीले भने टाप कसेका छन्। अदालतबाट पक्राउ पुर्जी काटिएका टोपबहादुर आफै प्रहरी सामु आत्मसमर्पण गर्ने बताए पनि एकाएक फरार हुन पुगे । एमाले अध्यक्ष ओलीले टोपबहादुरलाई जोगाउन लागिपरेको भन्दै चौतर्फी आलोचना भएपछि उनलाई हिजो मात्रै निलम्बन गरिएको थियो । 

एक जना सचिवले दिएको बयानको आधार र उनले मोबाइलमा छोडेको प्रमाणले उपप्रधानमन्त्री भइसकेका टोपबहादुर र  गृहमन्त्री भइसकेका खाँडसम्म प्रहरीको  अनुसन्धान सोझिएको छ,यदि उनै ओलीका पूर्व स्वकीय सचिव बज्राचार्यसम्म अनुसन्धान पुग्ने हो भने थप अनुसन्धान बालकोटको बार्दलीसम्म नपुग्ला भन्न सकिँदैन।

तपाइँको प्रतिक्रिया