शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५७ |सिड्नीको समय: ०९:५७ |काठमाडौंको समय: ०५:४२

अष्ट्रेलियाको सरकारी उपकरणमा टिकटक प्रतिबन्ध !!

एएनजेड खबरअप्रिल ५, २०२३

अस्ट्रेलिया सरकारले चिनियाँ स्वामित्वको टिकटक एप्लिकेशनमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका सबै उपकरणमा उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो ।

एप्लिकेशनको सुरक्षामा सम्झौता भएको र चीनले विदेशी हस्तक्षेपका लागि प्लेटफर्म प्रयोग गर्न सक्ने डरले अष्ट्रेलियाको संघीय सरकारले टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाएको बताइएको छ। कर्मचारीहरूले आफ्नो व्यक्तिगत फोनमा भने टिकटक एप्लिकेशन प्रयोग गर्न पाउने छन्।

अष्ट्रेलिया सरकारी उपकरणमा टिकटक एप्लिकेशन ब्लक गर्ने पाँचौ राष्ट्र बनेको छ । अमेरिका, क्यानडा, बेलायत र न्यूजील्याण्डले गरेको निर्णयलाई अष्ट्रेलियाले पनि पछ्याएको हो।

सङ्घीय सरकारले सबै विद्युतिय उपकरणमा टिकटक एप्लिकेशनलाई प्रतिबन्ध लगाएको पुष्टि गर्दै महान्यायाधिवक्ता मार्क ड्रेफसले प्रतिबन्ध “जति सक्दो चाँडो” लागू हुने बताएका छन्। उनले केस-दर-केसका आधारमा छुट दिइने पनि बताएका छन् ।

देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले जानकारी दिए। साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने समेत बताएका छन् ।

युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् । ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ ।

चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आवद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलव्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ । अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा टिकटक विवादमा पर्दै आएको छ । यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गर्दै आएको छ ।

गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२०मा टिकटक र ‘मेसेजिङ एप वी च्याट’लगायत दर्जनौँ चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो ।

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएकामा चीनले त्यसको आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको छ । साथै उसले अन्य देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप पनि लगाएको छ ।

तपाइँको प्रतिक्रिया