आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:०४ |सिड्नीको समय: ०९:०४ |काठमाडौंको समय: ०४:४९

पूर्व माओवादी नेताहरूको बैठक बालुवाटारमा 

एएनजेड खबरमार्च ७, २०२३

२३ फागुन, काठमाडौं । माओवादी जनयुद्धताका एकै ठाउँ भए पनि शान्ति प्रक्रियामा आएपछि छिन्न भिन्न भएका विभिन्न माओवादी धारका नेताहरूको बैठक आज बालुवाटारमा बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बोलाएको उक्त बैठकमा माओवादी अध्यक्ष प्रचण्ड सहित नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपाका नेता खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला लगायतका नेताहरूको उपस्थिति रहेको छ।

प्रधानमन्त्री प्रचण्डले केही वर्ष अघि दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेपछि सशङ्कित बनेको माओवादी शक्ति पछिल्लो समय छलफल र बैठकमा देखिन थालेका हुन् । १० वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका नेताहरू युद्धको समयमा भएका घटनालाई  सत्य निरूपण तथा मेलमिलाप आयोगले सल्टाउनु पर्नेमा सर्वोच्च अदालतमा मुद्दा पर्न थालेपछि एक जुट हुन थालेको विश्लेषण भइरहेको छ। 

सहिद सप्ताहको अन्तिम दिन फागुन २१ मा माओवादी घटकका नेताहरू प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द “विप्लव”लगायत एउटै मञ्चमा जम्मा भएका थिए। सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेताहरूले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताएका थिए। 

प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका थिए । आजको बैठकमा सोही विषयमा छलफल  केन्द्रित हुने बताइएको छ। 

तपाइँको प्रतिक्रिया